धनगढी : कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखाल निवासी हर्क सिंह कुवँर (प्रधान क्षेत्री कुवँर) रोजगारीका सिलसिलामा पोल्यान्डमा रहेका बेला गम्भीर बिरामी भएपछि विगत १७ दिनदेखि अचेत अवस्थामा उपचाररत रहेका छन्।
पुर्ख्यौली घर बैतडीको दोगडाकेदार गाउँपालिका–२ मल्लाढिक तथा हाल कञ्चनपुरमा बसोबास गर्दै आएका कुवरको पोल्यान्डस्थित अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको परिवारले जनाएको छ।
परिवारका अनुसार खाना खाने क्रममा खानेकुरा श्वासनलीमा अड्किएपछि उनको श्वासनलीको शल्यक्रिया गरिएको थियो। त्यसपछि स्वास्थ्य अवस्था झन् जटिल बन्दै जाँदा दुवै मिर्गौलाले काम गर्न छाडेका कारण नियमित डायलासिस गर्नुपरेको छ। साथै मुटुसम्बन्धी समस्या देखिएपछि त्यसको असर खुट्टामा समेत परेको बताइएको छ।
लामो समयदेखि सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गराइँदा अस्पतालको खर्च हालसम्म एक करोड रुपैयाँभन्दा बढी पुगेको परिवारले जनाएको छ। आर्थिक अवस्था कमजोर बन्दै गएपछि थप उपचारका लागि परिवारले सहयोगको अपिल गरेको छ।
कुवँरकी श्रीमती लक्ष्मी कुवरको नाममा रहेको सिद्धार्थ बैंकको खाता नम्बर तथा क्यूआर कोड सार्वजनिक गर्दै आर्थिक सहयोग अभियान सञ्चालन गरिएको छ। परिवारले देश तथा विदेशमा रहेका नेपाली समुदाय, संघसंस्था र सहयोगी मनहरूलाई सकेको सहयोग गर्न आग्रह गरेको छ।
प
रिवारले कुवँरको जीवनरक्षाका लागि सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै मानवीय सहयोगका लागि अपिल गरेको छ।



