काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीका २९९ केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरेको छ। पार्टीले पछिल्लो ‘अन्तर पार्टी निर्देशन–२’ (अपानि–२) जारी गर्दै केन्द्रदेखि प्रदेश, जिल्ला र पालिका तहसम्म नेताहरूको जिम्मेवारी तोकेको हो।
एमालेले आगामी दिनमा संगठन सुदृढीकरण, जनपरिचालन र पार्टी गतिविधिलाई प्रभावकारी बनाउन ‘मिसन पार्टी जागरण’ अभियानलाई तीव्र रूपमा सञ्चालन गर्ने रणनीति अघि सारेको जनाएको छ। सोही अभियानलाई सफल बनाउन केन्द्रीय सदस्यहरूलाई विभिन्न भूगोल र संगठनात्मक जिम्मेवारी प्रदान गरिएको पार्टीले जनाएको छ।
कार्यविभाजनअनुसार प्रदेश इन्चार्जहरूको जिम्मेवारी समेत तोकिएको छ। जसमा छविलाल विश्वकर्मा लाई लुम्बिनी प्रदेश, खगराज अधिकारी लाई गण्डकी प्रदेश, यामलाल कँडेल लाई कर्णाली प्रदेश, शेरधन राई लाई कोशी प्रदेश, राजन भट्टराई लाई राजधानी विशेष प्रदेश, महेश बस्नेत लाई बागमती प्रदेश तथा दामोदर भण्डारी लाई सुदूरपश्चिम प्रदेश को इन्चार्जको जिम्मेवारी दिइएको छ।
पार्टीले प्रदेश इन्चार्जहरूलाई प्रदेशस्तरीय गतिविधिको समन्वयका साथै जिल्ला र पालिका तहसम्म संगठन परिचालन, सदस्यता विस्तार, प्रशिक्षण, जनसम्पर्क तथा पार्टी अभियान सञ्चालनको जिम्मेवारी समेत दिएको जनाएको छ। यस व्यवस्थामार्फत केन्द्र र तल्लो तहबीचको समन्वयलाई थप प्रभावकारी बनाउने एमालेको योजना रहेको बताइएको छ।
एमालेका अनुसार कार्यविभाजनले पार्टी संगठनलाई चलायमान, अनुशासित र जनतामुखी बनाउँदै आगामी राजनीतिक चुनौती तथा निर्वाचनलाई लक्षित गरी संगठनात्मक तयारीलाई बलियो बनाउने अपेक्षा गरिएको छ। पार्टीले सबै तहका नेता–कार्यकर्तालाई जिम्मेवारीअनुसार सक्रिय रूपमा परिचालन हुन निर्देशन समेत दिएको छ।


