धनगढीः जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकार दिगो शान्ति र समृद्धिको आधारु भन्ने मूल नारासहित राष्ट्रिय मानव अधिकार आयोगको २६औँ वार्षिकोत्सव मनाइएको छ । राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयद्वारा आयोजित कार्यक्रम प्रदेश कार्यालय प्रमुख मानबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी ओम राना, जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी योगेन्द्र तिमिल्सेना, विभिन्न सुरक्षा निकायका प्रतिनिधि, मानव अधिकारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख मानबहादुर कार्कीले मानव अधिकारको संरक्षण, प्रवर्द्धन र सम्मानबिना लोकतन्त्र सुदृढ हुन नसक्ने बताए । उनले प्रत्येक नागरिकको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको अधिकार सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व रहेको उल्लेख गरे ।
कार्कीले मानव अधिकार संरक्षणका लागि राज्यका सबै निकायबीच सहकार्य आवश्यक रहेको बताउँदै नागरिकमा मानव अधिकारसम्बन्धी चेतना अभिवृद्धि गर्न आयोग निरन्तर सक्रिय रहेको धारणा राखे । जिम्मेवार र उत्तरदायी समाज निर्माणका लागि मानव अधिकारप्रति संवेदनशीलता आवश्यक रहेको उनको भनाइ थियो ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले मानव अधिकारको सम्मान र कानुनी शासनको प्रभावकारी कार्यान्वयनबाट मात्रै समाजमा शान्ति, सुशासन र विकास सम्भव हुने बताए । उनले अधिकारसँगै नागरिकको कर्तव्य पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै राज्यका निकायबाट मानव अधिकारमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
मानव अधिकार संरक्षणका लागि प्रशासन, सुरक्षा निकाय, नागरिक समाज तथा सञ्चार क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको वक्ताहरूले बताएका थिए । कार्यक्रममा सहभागीहरूले मानव अधिकारको सुनिश्चितताबाट मात्रै दिगो शान्ति, सामाजिक न्याय र समृद्धिको आधार तयार हुने निष्कर्ष व्यक्त गरेका थिए ।
कार्यक्रममा मानव अधिकारको वर्तमान अवस्था, चुनौती र आगामी कार्यदिशाबारे समेत छलफल गरिएको थियो । सहभागीहरूले समावेशी, न्यायपूर्ण र मानव अधिकारमैत्री समाज निर्माणका लागि साझा प्रतिबद्धता व्यक्त गरेका थिए ।


