कञ्चनपुर — भीमदत्त नगरपालिका–११ भुजेला महाकाली टोलका जीतराम पार्की ५० वर्षका भए । महाकाली नदी किनारमै बसोबास भएका उनको उमेरको आधाभन्दा बढी समय बगरमै बितेको छ । बिहानै कुटो–कोदालो बोकेर बगरमा पुग्ने र साँझ अबेर मात्रै घर फर्किने उनको दैनिकी हो ।
२५ वर्षदेखि उनी महाकालीको बगरमा गिट्टी–बालुवा चाल्ने काम गर्छन् । त्यही चालेको गिट्टी–बालुवा बिक्री गरेर उनले घर–परिवारको गुजारा गर्दै आएका छन् । श्रीमती तारासँगै उनी बिहान ६/७ बजेतिर महाकालीको बगरमा पुग्छन् । दिउँसो घरबाटै ल्याएको खाजा खान्छन् र साँझ ६/७ बजेतिर घर फर्किन्छन् ।
जेठ महिनाको मध्यमा पश्चिम तराईमा गर्मी दिन प्रतिदिन बढ्दै गएको छ । अधिकतम् तापक्रम ४०/४१ डिग्री पुगिरहेको छ । महाकालीको बगरमा दिउँसोको समयमा ढुंगा–बालुवा तातेर हिँडडुल गर्नै सकिँदैन । अझ लुसँगै उडेर आउने तातो बालुवाले काम गर्नै सकिँदैन । यो सबैको बेवास्ता गर्दै पार्कीजस्तै सयौं मजदुर अहिले यही बगरमा गिट्टी–बालुवा चाल्ने काममा व्यस्त देखिन्छन् ।
‘गर्मी त अति नै छ, के गर्नु अहिले सिजनमै काम गर्न नसके खान लाउनै समस्या हुन्छ,’ पार्कीले भने, ‘दिउँसो खाजा खाने बेला एक/घण्टा विश्राम गर्छौं, अरू बेला त घाम–पानी केही नभनी काम गर्नुपर्छ ।’ दुई जनाले मिलेर दुई दिनमा एक ट्रली बालुवा छान्न सकिने पार्की बताउँछन् । अहिले एक ट्रली बालुवा १ हजार ७ सयमा बिक्री भइरहेको छ । यसैगरी दुई जनाले मिले चार/पाँच दिनमा एक ट्रली गिट्टी छान्न सकिन्छ । उक्त गिट्टी २ हजार ७ सयसम्म बिक्री भइरहेको छ ।
महाकालीमा कार्तिकदेखि जेठसम्म गिट्टी–बालुवा छान्ने काम चल्छ । जेठ मसान्तमा उत्खननको काम बन्द हुने भएकाले अहिले प्रचण्ड गर्मीमा समेत धुमधामका साथ काम भइरहेको छ । कतिपय त यतिबेला बगरमै छाप्रो बनाएर बस्ने गरेका छन् । टाढाबाट आउँदा समय खेर जाने भन्दै उनीहरूले बगरमै छाप्रो बनाएर बस्ने गरेका हुन् ।
‘गर्मी त धेरै छ, अझ दिउँसोको बेला लु चलेर हिँडडुल गर्नै सकिँदैन,’ चार वर्षदेखि महाकालीको बगरमा गिट्टी–बालुवा छान्ने काम गरिरहेकी भीमदत्त नगरपालिका–११ भुजेलाकी द्रौपती सार्की भन्छिन्, ‘अनुहारसमेत कपडाले बेरेर काम गर्नुपर्छ ।’ धेरै गर्मी भएका दिन तीन/चार घण्टा दिउँसोको समयमा विश्राम गर्ने गरेको उनले बताइन् ।
द्रौपती पनि बिहानै बगरमा पुग्छिन् । साँझ मात्रै घर फर्किन्छन् । कुनै दिन महाकालीमा पानी बढेका बेला भने आउजाउमा समस्या हुन्छ । कतिपय बेला पानी बढेर बगरमै रोकिनुपरेको उनी बताउँछिन् ।
उनको सम्पत्तिका नाममा आधा कट्ठा जमिन छ । त्यसमै सानो घर बनाएकी छिन् । घर बनाउँदा र श्रीमान्लाई वैदेशिक रोजगारीमा पठाउँदा ऋण लागेको छ । घरखर्च चलाउन समेत गाह्रो भएका कारण आफू गर्मीको समेत पर्वाह नगरी गिट्टी–बालुवा छान्ने काम गरिरहेको उनी बताउँछिन् ।
६७ वर्षीया गोजडी सार्की पनि भतिजी लीलासँग मिलेर गिट्टी–बालुवा छानिरहेकी छिन् । दार्चुलाको लेकमबाट बसाइँ सरेर महाकाली किनारमै पुगेकी उनी चार/पाँच वर्षदेखि बगरमै व्यस्त हुने गरेकी छिन् । दुई/तीन दिनमा एक ट्रली बालुवा चाल्न सके सात/आठ सय आम्दानी हुने उनले बताइन् ।


