धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ स्थित होटल रोयल दरबारमा सोमबार राति भएको ढुंगामुडापछि प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ । होटलमा तोडफोड गर्ने समूहलाई नियन्त्रणमा लिन नसकेको प्रहरीले उल्टै होटल सञ्चालकसहित छ जनालाई पक्राउ गरेपछि प्रहरीको भूमिकामाथि प्रश्न उठेको हो ।
राति १० बज्नुअघि नै बन्द भइसकेको होटलमा साढे १० बजेतिर बाहिरबाट ढुंगा प्रहार गरिएको थियो । होटलभित्र रहेका सञ्चालक प्रकाश कार्कीले तोडफोड भइरहेको भन्दै प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली पुग्दासमेत ढुंगामुडा गर्ने समूह होटलअगाडि नै रहेको भिडियोमा देख्न सकिन्छ । तर, प्रहरीकै अगाडि उनीहरू पालैपालो भाग्न सफल भएका थिए ।
प्रहरीको भ्यान फर्किएपछि सञ्चालक कार्की, कामदार र आफन्तहरू होटल अगाडि सिसी क्यामेराको फुटेज हेरेर आक्रमणकारीको पहिचान गर्ने प्रयासमा थिए । सोही क्रममा दोस्रोपटक आएको प्रहरी टोलीले राति अबेरसम्म सडकमा बसेको भन्दै सञ्चालक कार्कीसहित छ जनालाई पक्राउ गरेको हो ।
मंगलबार कार्की रिहा भए पनि अन्य पाँच जनामाथि अभद्र व्यवहारमा म्याद थप गरिएको छ । ‘हामी त सिसी क्यामेराको फुटज हेरेर होटलमा तोडफोड गर्नेलाई चिन्ने प्रयास गरिरहेका थियौँ,’ कार्कीले भने, ‘भित्र जान्छु भन्दा पनि प्रहरीले जबर्जस्ती पक्राउ गरेर लग्यो ।’ घटनापछि कञ्चनपुर प्रहरीको आलोचना भइरहेको छ । तोडफोड गर्ने समूहलाई उम्कन दिएर पीडित पक्षमाथि नै कारबाही गरिएको भन्दै प्रश्न उठाइएको हो ।
यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक बीरेन्द्र थापाले पाँच जनाले अभद्र व्यवहार गरेकाले पक्राउ गरिएको दाबी गरेका छन् । उनका अनुसार तोडफोडमा संलग्न एक जनालाई नियन्त्रणमा लिइएको छ भने घटनाको थप अनुसन्धान भइरहेको छ ।


