धनगढी । सुदूरपश्चिमको राजधानी धनगढीमा होटल डिभोटी सहित ५३ व्यावसायिक संस्थाहरूले राज्यलाई कर नतिरेको पाइएको छ। आन्तरिक राजश्व कार्यालय धनगढी कैलालीका अनुसार होटल डिभोटी, नोभा अस्पताल लगायतका संस्थाहरुले लामो समयदेखी राजश्व बुझाएका छैनन् ।
आन्तरिक राजश्व कार्यालय धनगढीले एक सुचना जारी गर्दै समयमै कर नतिर्ने, पटक(पटकको ताकेता अटेरी गर्ने र कतिपय सम्पर्कविहीन भएका व्यवसायीहरूको नामावली गोरखापत्र दैनिकमा प्रकाशित गरेको हो। कार्यालयले १५ दिनभित्र बाँकी कर बक्यौता चुक्ता नगरे चल(अचल सम्पत्ति रोक्का गरी कानुनी कारबाही अगाडि बढाउने अन्तिम चेतावनी दिएको छ।
तोकिएको १५ दिनको म्यादभित्र कर दाखिला नगरेमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ र आयकर ऐन, २०५८ बमोजिम निम्न कारबाहीहरू गरिने सूचनामा उल्लेख छ ।
१. बैंक खाता रोक्का: करदाताको बैंक तथा वित्तीय संस्थामा रहेको रकम कट्टा गरिने।
२. सम्पत्ति जफत: चल-अचल सम्पत्ति कब्जा गरी लिलाम बिक्री गरिने।
३.कारोबार रोक्का: व्यावसायिक कारोबार तथा आयात-निर्यात रोक्का गरिने।


