धनगढीः बाजुराको हिमाली गाउँपालिका ३ लाम्पाटामा कुटपिट र लुटपाट गर्ने २३ जना बिरुद्ध उजुरी दर्ता भएको छ । यही जेठ ३ गते हुम्लाको खार्पुनाथ २ थलीका स्थानीयले बाजुराको हिमाली गाउँपालिका ३ का वडा सदस्य लगायत ब्यक्तीहरुलाई निर्घात कुटपिट गरी लुटपाट गर्नुका साथै केही ब्यक्तीहरुलाई बन्धक समेत बनाएर राखेका थिए ।
बाजुराको लाम्पाटा पुगेका करिब तीन सय जनाको समूहले स्थानीयलाई कुटपिट गर्दै उनीहरुको घरमा लुटपाटसमेत गरेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए। वडा सदस्य पेमागारा गुरुङसहित पाँच जनालाई बन्धकसमेत बनाएको अध्यक्ष मल्लले बताए। उनका अनुसार हुम्लाबाट आएको समूहले स्थानीयको घरमा लुटपाट गर्दै वन्यजन्तु र जडिबुडी तस्करी गरेको कागजसमेत तयार गर्दै जेठ ८ गते भित्र लाम्पाटा छोड्ने उर्दी जारी गरेका थिए।
हुम्लाबाट आएको समूहले लाम्पाटाका स्थानीयलाई कुटपिट गर्दै जेठ ६ गतेसम्म बन्धकसमेत बनाएको दाबी गरिएको छ। उक्त घटनामा संलग्न भएका र पहिचान खुलेका २३ जना विरुद्ध भने जिल्ला प्रहरी कार्यालय बाजुरामा किटानी जाहेरी दर्ता भएको हिमाली गाउँपालिकाका अध्यक्ष मल्लले बताए।
जिल्ला प्रहरी कार्यालय बाजुराले पनि २३ जना व्यक्तिको नाममा उजुरी दर्ता भएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता नरेश शाहीले लाम्पाटा घटनामा संलग्न भनिएका २३ जना विरुद्ध आइतवार नै उजुरी दर्ता भएको जानकारी दिए। जेठ ३ गते भएको घटनामा संलग्न कसैलाई पनि प्रहरीले नियन्त्रणमा नलिएको भन्दै हिमाली युवा सञ्जालले आपत्ति जनाएको छ। तर, जिल्ला प्रहरी कार्यालय हुम्लाले भने लाम्टाटा घटनामा संलग्न भएकाहरुको खोजी गर्न प्रहरी टोली परिचालन गरिएको जनाकारी दिएको छ।


