धनगढी : खेमराज पाण्डे नवजीवन सहकारी संस्थाको सञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन् । धनगढी नगरपालिकाका पूर्व मेयर समेत रहेका पाण्डेले कुनै प्यानल बिना स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए ।
शनिबार सम्पन्न निर्वाचनमा पाण्डेले ३ हजार १ सय ३२ मत प्राप्त गर्दै प्रभावशाली जित हासिल गरेका हुन् । सहकारीको चुनावमा अधिकांश उम्मेदवार समूहगत प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका बेला पाण्डेले एक्लै उम्मेदवारी दिएर लोकप्रिय मतसहित विजय हासिल गर्नु अर्थपूर्ण रूपमा हेरिएको छ ।
निर्वाचन परिणाम सार्वजनिक भएपछि पाण्डेले आफूलाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण शेयर सदस्यप्रति आभार व्यक्त गरेका छन् । उनले नवजीवन सहकारीलाई अझ पारदर्शी, विश्वसनीय र सदस्यमैत्री संस्थाको रूपमा अगाडि बढाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
उनले सहकारीको आर्थिक सुदृढीकरण, सदस्यको हित संरक्षण, सेवा विस्तार तथा संस्थागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । “सहकारीप्रतिको जनविश्वास अझ मजबुत बनाउने गरी काम गर्छु,” पाण्डेले भने ।
पाण्डेको जितलाई सहकारीभित्र व्यक्तिगत छवि, अनुभव र विश्वासको जीतका रूपमा समेत व्याख्या गरिएको छ । लामो समयदेखि सामाजिक तथा सार्वजनिक जीवनमा सक्रिय पाण्डे धनगढी क्षेत्रका परिचित राजनीतिक तथा सामाजिक व्यक्तित्व मानिन्छन् ।


