धनगढी । व्यवसायी कोपीला कुँवर धनगढीको नवजीवन सहकारी संस्थाको कार्य समिति सदस्य पदमा विजयी भएकी छन् । अध्यक्षमा जितेका गोपालराज पाठकको प्यानलबाट उम्मेदवारी दिएकी कुँवरले लोकप्रिय मतका साथ चुनाव जितेकी हुन् ।
कुँवरले चार हजार ११२ मत प्राप्त गरेकी छन् । उनी सदस्यमा सबैभन्दा धेरै मत प्राप्त गर्ने सूचीको दोस्रो नम्बरमा परेकी छन् । पहिलोमा भने पाँच हजार १४३ मत पाएका केशवराज जोशी छन् ।गोपाल पाठक टिमबाट सदस्यमा सबभन्दा बढी मत प्राप्त गर्नेमा कुवर छिन् ।
गत असोजमा भएको उद्योग वाणिज्य संघ कैलालीको चुनावमा कोपीलाले सचिव पदमा उम्मेदवारी दिएकी थिइन् । सचिवमा स्वतन्त्र उम्मेदवारी दिएकी उनले तीन सय ३३ मत पाएपनि चुनाव जित्न सकिनन् ।
तर, नवजीवन सहकारी संस्थाको चुनावमा भने उनले सफलता हात पारेकी छन् । चुनाव जितेपछि कुँवरले सामाजिक सञ्जालमार्फत सबैलाई धन्यवाद दिएकी छन् भने संस्थाको बहुआयामिक विकास र सुधारको लागि काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।


