धनगढी: बाजुरा–हुम्ला सीमा विवादका कारण अवरुद्ध बनेको कर्णाली कोरिडोर खुलेको छ । २ देखि ४ जेठसम्म बाजुरा र हुम्लाको सीमा हिमाली गाउँपालिका–३ र खार्पुनाथ गाउँपकालिका–२ को लामपाटामा अस्थायी प्रहरी चौकी राख्ने विषयमा विवाद उत्पन्न भएको थियो । प्रहरी चौकी स्थापनाको विषयलाई लिएर खार्पुनाथ गाउँपालिका–२ का राय र थाली गाउँका बासिन्दाले प्रहरी चौकी निर्माणमा अवरोध गरेका थिए । राय र थाली गाउँका स्थानीयको कुटपिटबाट हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडा नम्बर ३ का वडा सदस्यसहित पाँच जना घाइते भएका थिए ।
उक्त घटनापछि हिमाली युवा क्लबले बुधबारदेखि पालिकाको केन्द्र धुलाचौरमा कर्णाली कोरिडोर अवरुद्ध गराएको थियो । शुक्रबार जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा भएको सर्वपक्षीय छलफलबाट अवरुद्ध सडक खुलाउने सहमति भएको हो । हिमाली युवा क्लबसँग घटनाका बारेमा छानबिन गर्ने, पर्यटकबाट लुटिएका व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति फिर्ता गराउने, घाइतेको उपचार र विस्थापित भएका लामपाटका स्थानीयको सुरक्षाको प्रत्याभूति गराउने लगायत ६ बुँदे सहमति भएपछि कर्णाली कोरिडोर खुलेको हो ।


