धनगढी: नेपाल कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशमा पनि तीनदलीय राजनीतिक समीकरण बन्नसक्ने संकेत गरेका छन् । कैलालीको धनगढीमा भएको नेकपा सुदूरपश्चिम संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस, एमाले र नेकपाबीच सत्ता समीकरण हुनसक्ने प्रसंग उठाएका हुन् ।
‘मधेश सरकारमा तीनदलीय समीकरण भएको विषय उठाउँदै प्रचण्डले सुदूरपश्चिममा त्यस्तो गर्न सकिन्छ रु भनेर हामीहरूसँग राय माग्नु भएको थियो,’ नेकपा सुदूरपश्चिमका एक सांसदले भने, ‘सुदूरपश्चिमका अधिकांश सांसदहरूले तीन दल मिलेर सरकार चलाउँदा राम्रो सन्देश नजाने बताएका थिए ।’ बैठकमा प्रचण्डले तीनदलीय समीकरणका लागि कांग्रेस नेतृत्वसँग आजै काठमाडौं फर्किएर निर्णायक छलफल हुने बताएका थिए । उनले पार्टी संगठन र संसदीय दललाई थप एकताबद्ध बनाउन निर्देशन दिएका थिए । असहमति र विवादलाई संवाद तथा छलफलमार्फत समाधान गर्नुपर्नेमा जोड दिँदै उनले दलको निर्णय र विधानभन्दा बाहिर जान खोजे कारबाहीसमेत हुनसक्ने चेतावनी दिएका थिए ।
बैठकमा केही सांसदले साविक दलबाट समायोजन भएका केही सांसदले अझै पार्टी एकतालाई पूर्ण रूपमा स्वीकार नगरेको अवस्था रहेको बताएका थिए । जवाफमा प्रचण्डले समस्या तत्काल समाधान गर्नुपर्ने र आवश्यक परे केन्द्रले हस्तक्षेप गर्न सक्ने संकेत गरे । संसदीय दलका नेता खगराज भट्टले भने प्रदेशसभाको अंकगणित र नेकपाको अवस्थाबारे जानकारी गराएका थिए ।
तीन दलको एकतापछि सुदूरपश्चिम प्रदेशसभा नेकपा सबैभन्दा ठूलो दल बनेको छ । बैठकमा प्रचण्डसँगै सहसंयोजक माधवकुमार नेपाल, नेताहरु भीम रावल र नारायणकाजी श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।


