धनगढी: कैलालीमा लागुऔषध दुव्र्यसन र तस्करी नियन्त्रण प्रहरीका लागि मुख्य चुनौती बन्दै गएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार वैशाख महिनामा मात्रै लागुऔषध सम्बन्धी ५८ वटा मुद्दा दर्ता गर्दै १०० जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा २ जना महिला र ९८ जना पुरुष रहेका छन् ।
पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले ८१ ग्राम ६४० मिलिग्राम खैरो हेरोइन, २० ग्राम ३१० मिलिग्राम चरेश तथा ४४ ग्राम ९७० मिलिग्राम गाँजा बरामद गरेको जनाएको छ । बरामद लागुऔषधसहित पक्राउ परेकामाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । यस अवधिमा जिल्लाका विभिन्न स्थानबाट १ हजार ५ सय ६२ लिटर तयारी घरेलु मदिरा तथा मदिरा उत्पादनमा प्रयोग हुने ६ हजार २ सय लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको छ ।
यता, वैशाख महिनाभर कैलाली जिल्लामा ९५ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १५५ जना घाइते भएका छन् । दुर्घटनापछि तत्काल खटिएको प्रहरी टोलीले १६० जनाको सकुशल उद्धार गरेको जनाएको छ । प्रहरीको विश्लेषणअनुसार अधिकांश दुर्घटना चालकको लापरवाहीका कारण भएका हुन् । कुल दुर्घटनामध्ये ७५ वटा चालकको गल्ती, १५ वटा यात्रुको लापरवाही, ३ वटा सडकमा छाडा चौपाया र २ वटा सवारी साधनको यान्त्रिक गडबडीका कारण भएका थिए ।
ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि पनि प्रहरीले कडाइ गरेको छ । वैशाख महिनामा मात्रै १ हजार ३ सय ७५ वटा सवारी साधन कारबाहीमा परेका छन् । उक्त कारबाहीबाट ११ लाख ५७ हजार रुपैयाँ राजस्व सङ्कलन भई राज्य कोषमा जम्मा भएको प्रहरीले जनाएको छ ।
जिल्लामा शान्ति सुरक्षा कायम राख्न, लागुऔषध तथा अवैध मदिरा नियन्त्रण गर्न र सडक दुर्घटना न्यूनीकरणका लागि अभियानलाई अझ प्रभावकारी बनाइने प्रहरीको भनाइ छ ।


