धनगढी: ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं’ अभियानको टोली अछामको पञ्चदेवल विनायक नगपालिकास्थित ऐतिहासिक पञ्चदेवल पुगेको छ। विक्रम सम्वत १३३७ मा तत्कालीन राजा अक्षय मल्लले निर्माण गरेको पाँच वटा देवल र यसमा लेखिएको शिलालेख नेपालकै पुरानो शिलालेखमध्ये पर्छ।
टोलीको नेतृत्व गरेका धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले ऐतिहासिक स्थल पञ्चदेवलको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले टोली यहाँ आएको बताए । यसको शिलालेखमा सामाजिक शान्ति एकता र भातृत्वका लागि देवल निर्माण गरिएको लेखिएको स्थानीय भरत अधिकारीले बताए। पाँच वटा देवालमध्ये एउटा आधा भत्किएको अवस्थामा छ। नेपाली भाषाको सबैभन्दा पुरानो दैलेखको दुल्लु शिलालेखपछि पुरानोमध्ये यो शिलालेख पनि रहेको स्थानीय बयोवृद्व हरिभक्त बजगाईले बताए।
धनगढी उपमहानगरले हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं अभियान सुरु गरेको हो। अभियानअन्तर्गत धनगढीका जनप्रतिनिधि, पर्यटन व्यावसायीलगायतको टोलीले हालै यहाँको हिमाली पदयात्राको प्रमुख पर्यटकीय गन्तव्य अपिहिमाल पुगेको थियो। टोली अहिले पञ्चदेवल, रामारोशन र साइपाल वेश क्याम्पको यात्रामा छ । सुदूरपश्चिमका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरेर पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले धनगढी उपमहानगरले अभियान सुरु गरेको नगर प्रमुख हमालले बताए।


