धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफूले पाउने पारिश्रमिक तथा सेवा–सुविधा बापतको रकम सामाजिक क्षेत्रमा खर्च गर्ने प्रतिबद्धतालाई निरन्तरता दिएका छन् । सोहीअनुसार शुक्रबार उनले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका हुन् । मेयरमा निर्वाचित भएदेखि नै सरकारी सुविधा नलिने घोषणा गरेका हमालले हालसम्म प्राप्त अधिकांश रकम शिक्षा, गौ–सेवा तथा असहायहरूको सहयोगमा खर्च गर्दै आएका छन् ।
धनगढी उपमहानगरपालिकाका विज्ञ शिक्षक गणेश भट्टका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा नगर प्रमुख हमालले प्राप्त गरेको १ लाख ३७ हजार २ सय ७३ रुपैयाँ पूर्ण रूपमा सामाजिक क्षेत्रमा खर्च गरिएको थियो । उक्त रकममध्ये गौ संरक्षण सेवा समितिलाई ५५ हजार ६ सय ८७ रुपैयाँ तथा दक्षिणकाली आधारभूत बहिरा आवासीय विद्यालयलाई ८१ हजार ५ सय ८६ रुपैयाँ नगद सहयोग गरिएको थियो । यस्तै आर्थिक वर्ष २०७९/०८० मा प्राप्त ९ लाख ३६ हजार ४ सय रुपैयाँमध्ये २ लाख ६७ हजार ८ सय रुपैयाँ बराबरको न्यानो कपडा वितरण गरिएको थियो । उक्त सहयोगबाट दृष्टि फाउन्डेसन, मानव सेवा आश्रम, आमाको माया छात्रावास, खगेन्द्र नवजीवन केन्द्र तथा दक्षिणकाली विद्यालयका गरी २ सय ६९ जना आश्रित लाभान्वित भएका थिए ।
आर्थिक वर्ष २०८०/०८१ मा कक्षा ८ को वार्षिक परीक्षामा शून्य नतिजा आएका १७ वटा सामुदायिक विद्यालयका ३ हजार ४ सय ८९ जना विद्यार्थीलाई कापी, पेन्सिल, कटर र इरेजरलगायत शैक्षिक सामग्री वितरण गरिएको थियो । यस अभियानमा ९ लाख ९२ हजार ६ सय ५ रुपैयाँ खर्च गरिएको भट्टले जानकारी दिए । त्यसैगरी चालु आर्थिक वर्ष २०८१/०८२ मा प्राप्त रकमबाट धनगढीका ४७ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ७ हजार ४ सय ७५ जना विद्यार्थीलाई १० लाख रुपैयाँ बराबरको स्टेशनरी सामग्री वितरण गरिएको छ ।
नगर प्रमुख हमालले आगामी आर्थिक वर्ष २०८२/०८३ मा प्राप्त हुने सेवा–सुविधाको रकमसमेत सामाजिक कार्यमै खर्च गर्ने तयारी भइरहेको बताए । उनले आफ्नो व्यक्तिगत तर्फबाट थप ५ लाख रुपैयाँ सहयोग गरी कुल रकम ४४ लाख पुर्याउने योजना रहेको जानकारी दिए । हालसम्म नगर प्रमुख हमालको सेवा–सुविधाबाट ३८ लाख ८२ हजार ८ सय ७३ रुपैयाँ प्राप्त भएको छ । जसमध्ये २३ लाख ९७ हजार रुपैयाँभन्दा बढी खर्च भइसकेको र बाँकी रकममा आफ्नो व्यक्तिगत तर्फबाट ५ लाख १७ हजार १ सय २६ रुपैयाँ थप गरी कुल ४४ लाख रुपैयाँ सामाजिक विकासका क्षेत्रमा वितरण गरिने उनले बताए ।
विशेषगरी सामुदायिक विद्यालयका विपन्न विद्यार्थीहरूको शिक्षामा पहुँच विस्तार गर्ने तथा विभिन्न सामाजिक अभियानलाई सहयोग पुर्याउने उद्देश्यले आफूले यस्तो अभियान सञ्चालन गरिरहेको नगर प्रमुख हमालको भनाइ छ ।


