धनगढी: गत २१ फागुनको निर्वाचनका लागि नेपाली कांग्रेसले सुदूरपश्चिमस्तरीय चुनावी सभा गर्न १४ फागुनको मिति तय गर्यो । सभालाई सभापति गगन थापाले सम्बोधन गर्ने तयारी थियो । कार्यक्रमको समन्वयको जिम्मेवारी केन्द्रीय सदस्य निपा चोखाललगायत नेतालाई दिइएको थियो । तर, अन्तिम समयमा कांग्रेसको चुनावी सभा स्थगित गरियो ।
समयको अभाव तथा तयारी अपुगले सभा स्थगित गरिएको जानकारी दिइयो । तर, कांग्रेसले सभा स्थगित गर्नुको कारण भने अरु नै थियो । कांग्रेसको केन्द्रीय समितिले सभाको सहजीकरणका लागि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र पार्टीका प्रदेश सभापति वीरबहादुर बलायरलाई सम्पर्क गरेको थियो ।
मुख्यमन्त्रीले आफ्नो सभापति शेरबहादुर देउवा भएको र बलायरले चासो नदेखाएपछि आमसभा गर्न केन्द्र तयार नभएको हो । निर्वाचनपछि कांग्रेसले सातै प्रदेशमा निर्वाचन समीक्षाका लागि मिति तय गर्यो । सुदूरपश्चिममा ५ वैशाखमा समीक्षा कार्यक्रम गर्ने तय भयो । तर, कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले ५ वैशाखका लागि कैलालीमा तय गरिएको प्रदेशस्तरीय समीक्षा कार्यक्रम स्थगित भएको जानकारी दिए ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत १० र ११ चैतमा सम्पन्न बैठकको निर्णयअनुसार १७ चैतमा जारी गरिएको परिपत्रबमोजिम सातवटै प्रदेशमा निर्वाचन समीक्षा तथा १५औँ महाधिवेशनसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने सन्दर्भमा, सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलालीमा ५ वैशाखका लागि पूर्वनिर्धारित कार्यक्रम विशेष कारणवश अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ,’ दुलालद्वारा जारी सूचनामा भनिएको थियो ।
सूचनामा स्थगितको कारण खुलाइएको थिएन । तर, पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवापक्ष समीक्षा कार्यक्रमका लागि तयार नभएपछि कार्यक्रम स्थगित गरिएको थियो । सुदूरपश्चिम प्रदेश कार्यसमितिमा देउवापक्षको बहुमत छ । प्रदेश समितिले विशेष महाधिवेशनमार्फत आएको नेतृत्वलाई स्वीकार नगर्ने अडान लिएको थियो । सुदूरपश्चिम देउवाको गृहप्रदेश हो । प्रदेश सभापति वीरबहादुर बलायर र प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह देउपापक्षकै छन् । आमसभा र समीक्षा कार्यक्रम गर्न नसकेको कांग्रेसले २६ र २७ वैशाखमा कैलालीको धनगढीमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’को आयोजना गरेको छ । उक्त भेलामा देउवा पक्ष सहभागिताबारे चासो बढेको छ ।
प्रदेश समितिबाट उपसभापति जनकराज चौधरी तथा नौ जिल्ला सभापतिमा दुई जना मात्रै विशेष महाधिवेशनमा खुलेका थिए । भेलामा प्रदेश सभापति वीरबहादुर बलायर र कैलाली जिल्ला सभापति नारायणदत्त भट्टले सहभागी नहुने बताइरहेका छन् । राष्ट्रियसभा सदस्यसमेत रहेका जिल्ला सभापति भट्टले आफू काठमाडौंमा रहेको र कार्यक्रममा उपस्थित हुन नसक्ने बताए । यस्तै, प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सहभागिता पनि टुंगो लागेको छैन । उनी प्रादेशिक अस्पतालको उद्घाटनका लागि अछाम लागेका छन् । तर, देउवापक्षका थुप्रै नेताहरू भने अदालतले विशेष पक्षलाई आधिकारिकता दिइसकेकाले भेलामा सहभागी हुने बताएका छन् ।
२६ गतेदेखि सुरु हुने भेलाका लागि कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले प्रदेश सभापति र नौ जिल्लाकै सभापतिलाई पत्र लेखेका छन् । पत्रमा कार्यक्रमको व्यवस्थापन नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले गर्ने र स्थानीय संयोजन जिल्ला कार्यसमिति कैलालीले गर्ने बताइएको छ । तर, प्रदेश र जिल्ला दुवै समिति त्यसमा तयार छैनन् ।
‘प्रदेशलाई त आयोजक नै राख्ने तयारी थियो तर हामी तयार भएनौँ,’ प्रदेश समितिका एक नेताले भने, ‘जिल्ला समिति पनि संयोजन गर्न तयार छैन ।’ देउवा पक्षले सहयोग गरिरहेको छैन नि भन्ने प्रश्नमा सहमहामन्त्री रसाइलीले भने, ‘पार्टी विधि र विधानअनुसार चल्छ । त्यो सबैले मान्नुहुन्छ भन्ने विश्वास छ ।’ भेलाको सभापति थापाले उद्घाटन गर्ने कार्यक्रम छ । भेलाको समन्वयका लागि केन्द्रबाट सहमहामन्त्री प्रकाश रसाइली स्नेहीलाई खटाइएको छ भने थप सहजीकरणको जिम्मेवारी सहमहामन्त्री उदय शमशेर राणालाई दिइएको छ । भेलाकै लागि महामन्त्री गुरुराज घिमिरे भने हिजो धनगढी पुगिसकेका छन् । उनको स्वागतमा धनगढी विमानस्थलमा नेता कार्यकर्तालाई बोलाइएको थियो । तर, निकै कम नेता मात्रै विमानस्थल पुगेका थिए ।
विमानस्थलमै पत्रकार सम्मेलन पनि बोलाइएको थियो । तर, पत्रकार नै नपुगेपछि पत्रकार सम्मेलन हुन सकेन ।


