डोटी — जिल्लामा एक सातादेखि पेट्रोल अभाव हुँदा यहाँको जनजीवन प्रभावित भएको छ । नियमित आपूर्ति अवरुद्ध भएपछि यातायात सेवा, बजार गतिविधि र दैनिक उपभोगका कामहरूमा प्रत्यक्ष असर परेको छ। जिल्लामा दुई वटा पेट्रोल पम्प छन् । ती पम्पहरुले आवश्यक मात्रामा पेट्रोल दिन नसकेपछि सवारी साधन प्रयोगकर्ताहरू बिहानैदेखि लाइन बस्न बाध्य छन्। कतिपय दिन त पम्पमा पेट्रोल नै नआउँदा सवारी धनीहरू निराश भएर फर्किनुपर्ने अवस्था छ। विशेषगरी मोटरसाइकल प्रयोगकर्ता बढी प्रभावित भएका छन्, जसले कार्यालय, विद्यालय तथा अन्य अत्यावश्यक काममा पुग्न कठिनाइ भोगिरहेका छन्।
पेट्रोल अभावको प्रभाव सार्वजनिक यातायातमा समेत देखिएको छ। सवारी साधन कम चल्न थालेपछि यात्रुहरूले लामो समय कुर्नुपर्ने बाध्यता बढेको छ भने कतिपय स्थानमा भाडादरसमेत वृद्धि भएको गुनासो आएको छ। ग्रामीण क्षेत्रबाट सदरमुकाम आउने–जाने यात्रुहरू झनै मारमा परेका छन्। यस्तै, बजारमा दैनिक उपभोग्य वस्तुहरूको ढुवानीमा समस्या उत्पन्न हुँदा व्यापार व्यवसायसमेत प्रभावित भएको छ। व्यवसायीहरूका अनुसार समयमै सामान नआउँदा बिक्री घट्नुका साथै उपभोक्ताले समेत मूल्यवृद्धि भोग्नुपर्ने अवस्था सिर्जना भएको छ।
स्थानीय अटो व्यवसायी लक्ष्मण माझी धनगढीबाट पेट्रोल मगाएर सेवा दिइरहेको बताउँछन् । हामीले धनगढीबाट तेल मगाएर सेवा दिइरहेका छौं, उनले भने, अभावका बीच नागरिकलाई सेवा दिन वैकल्पिक उपाय अपनाएका हौं। उनका अनुसार यसरी बाहिरबाट तेल ल्याउँदा लागत बढ्ने भए पनि सेवाग्राहीलाई राहत दिन निरन्तर प्रयास भइरहेको छ।
प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालका अनुसार जिल्लामा पेट्रोल अभाव चाँडै अन्त्य हुने छ। तेलको ट्यांकर आइसकेको छ, भोलिसम्म समस्या समाधान हुन्छ, उनले भनिन् । उनका अनुसार केही सरकारी कार्यालयमा उधारोमा गएको तेलको रकम उपलब्ध गराइएको छ भने व्यवसायीहरूले बाँकी रकम जम्मा गरेपछि बजारमा नियमित आपूर्ति हुने तयारी भइरहेको छ।
नेपाल आयल निगम डोटीकी कार्यालय प्रमुख उर्मिला गिरीले भने रकम अभावका कारण ढुवानी भएर आएको पेट्रोल वितरण हुन नसकेको स्पष्ट पारेकी छन्। तेलको गाडी आएको छ, तर भनेजति पैसा कसैले जम्मा नगरेका कारण गाडी खाली भएको छैन, उनले भनिन्, हामी उधारोमा तेल दिँदैनौं, त्यसैले रकम सुनिश्चित भएपछि मात्रै पम्पमा पठाउन सकिन्छ।


