धनगढी: सुदूरपश्चिम प्रदेशको आर्थिक तथा व्यापारिक केन्द्रका रूपमा रहेको धनगढी उपमहानगरपालिकाले सुदूरपश्चिम चिनाउने अभियान सुरु गरेको छ । ‘सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान लिएर नगर प्रमुख गोपाल हमाल नेतृत्वको टोली सुदूरपश्चिममा हिमाली पदयात्राको प्रमुख गन्तव्य अपि हिमालको यात्रामा छ ।
सुदूरपश्चिमका पर्यटकीय गन्तव्यको प्रचारप्रसार तथा यहाँका सम्भावनाको उजागर गर्ने उद्देश्यले उपमहानगरले सोमबारदेखि अभियान सुरु गरेको हो । अभियानअन्तर्गत अपि हिमालको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका लागि उपमहानगरका जनप्रतिनिधि, पर्यटन व्यवसायी, कर्मचारीलगायत सरोकारवालाको टोली आधार शिविरसम्म पुग्नेछ । अभियानअन्तर्गत नै अपिपछि सुदूरपश्चिमको अर्को प्रमुख हिमाली पर्यटकीय गन्तव्य साइपाल हिमालको आधार शिविर रानीसैन जाने पनि उपमहानगरको योजना छ । नगर प्रमुख हमाल समग्र सुदूरपश्चिमलाई चिनाउनका लागि अभियान सुरु गरिएको बताउँछन् ।
सुदूरपश्चिमलाई चिनाएर यहाँको आर्थिक गतिविधि चलायमान बनाउने अभियानको उद्देश्य रहेको उनले बताए । ‘पर्यटकीय क्षेत्र मात्र नभई यहाँको वेशभूषा, संस्कृति र सम्भावनालाई उजागर गर्न खोजेका हौँ,’ हमालले भने, ‘पर्यटकीय गन्तव्य र सम्भावना चिनाइदिए अवसर सिर्जना हुन्छन् कि ।’ अभियानमा निजी क्षेत्र, संघसंस्था र आमनागरिकलाई पनि जोडेर लैजाने उपमहानगरको योजना छ ।
अभियानअन्तर्गत सरोकारवालासहित यहाँका प्रमुख पर्यटकीय गन्तव्यसम्म पुग्ने, त्यहाँको अवस्था उजागर गर्ने उपमहानगरले जनाएको छ । ‘सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियानअन्तर्गत उपमहानगरले ‘पहिले प्रदेश अनि देश’को नारा अघि सारेको छ । पहिले आफ्नै प्रदेश घुम्न उत्प्रेरित गर्नका लागि यो नारा अघि सारिएको हमालले बताए । नागरिक समाज, संघसंस्था, पर्यटन व्यवसायी, निजी क्षेत्रलगायत सरोकारवालालाई अभियानमा जोडिने उनको भनाइ छ ।
कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा हमालले ०६४ तिर सुन्दर सुदूरपश्चिम अभियान सञ्चालन गरेका थिए । निजी क्षेत्रबाट थालिएको यो अभियानले सुदूरपश्चिमका पर्यटकीय स्थललाई चिनाउन तथा सम्भावनालाई उजागर गर्न महŒवपूर्ण योगदान पुर्याएको थियो । त्यो अभियानकै दोस्रो भागका रूपमा अहिले सुदूरपश्चिम हामी चिनाउँछौँ अभियान थालिएको हमालले बताए । धनगढी सुदूरपश्चिमको आर्थिक र व्यापारिक केन्द्र मात्र होइन, प्रदेशको अस्थायी राजधानी र यहाँको एक मात्र उपमहानगरपालिका हो ।


