धनगढी: धनगढीस्थित संजोक होटलमा आफूलाई जबर्जस्ती करणी गरिएको भन्दै प्रहरीलाई जानकारी गराएकी एक युवतीले औपचारिक किटानी जाहेरी नदिएपछि पक्राउ परेका युवकलाई प्रहरीले रिहा गरेको छ। प्रहरीका अनुसार युवतीले राति फोनमार्फत आफू पीडित भएको जानकारी गराएपछि तत्कालै प्रहरी टोली होटल पुगेको थियो। मौखिक उजुरीकै आधारमा डडेल्धुराको अमरगढी नगरपालिका–२ का एक युवकलाई बलात्कार आरोपमा नियन्त्रणमा लिइएको थियो।
तर पछि ती युवतीले आरोपित युवकविरुद्ध किटानी जाहेरी दिन अस्वीकार गरेपछि उनलाई आफन्तको जिम्मा लगाएर छाडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार डडेल्धुराकै २० वर्षीया युवती र आरोपित युवक एउटै सवारी साधनमा धनगढी आएका थिए। सुपप्र ०१००१ च ०२०८ नम्बरको तरकारी बोक्ने जिपमा यात्रा गरेका उनीहरू धनगढी उपमहानगरपालिका–४ स्थित संजोक होटलमा पुगेपछि छुट्टाछुट्टै कोठामा बसेका थिए।


