महेन्द्रनगर — कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । २०२५ सालमा निर्माण भएको कारागारको भौतिक संरचना विस्तार हुन सकेको छैन, तर कैदीबन्दी भने बर्सेनि थपिँदै गएका छन् । कञ्चनपुर कारागारमा सहज तथा व्यवस्थित तवरले १ सय ४० पुरुष तथा २० महिला कैदीबन्दी रहन सक्ने क्षमता छ । कारागार कार्यालयको दैनिक तथ्यांकअनुसार कारागारमा क्षमताभन्दा दोब्बर बढी ३ सय ५० कैदीबन्दी रहेका छन् । जसमध्ये ७ जना विदेशी कैदी र ५ जना विदेशी थुनुवासमेत गरी ३ सय ३६ जना पुरुष कैदीबन्दी छन् । यस्तै १ जना विदेशी थुनुवा र १३ कैदीसमेत गरी १४ जना महिला कैदीबन्दी रहेका छन् ।
कारागारको क्षमताभन्दा कैदीबन्दीको चाप बढ्दै गएपछि उनीहरूबीच आपसी विवाद चर्केर विभिन्न समयमा समूहगत रूपमा झैझगडा र कुटपिटका घटना बढ्न थालेका छन् । माघ महिनायता मात्रै कारागारभित्र कैदीबन्दीबीच दुईपटक आपसी विवाद चर्केर झडप र कुटपिटका घटना भएका छन् । पछिल्लो पटक चैत २४ मा भएको घटनामा ५ जना कैदीबन्दी घाइते भएका थिए । घाइतेमध्ये ३ जनालाई जिल्लाबाहिर अन्य कारागारमा स्थानान्तरण गरिएपछि हाल कारागारभित्रको अवस्था सामान्य रहेको कारागार प्रशासनले जनाएको छ ।
कञ्चनपुर कारागार प्रमुख जेलर हेमन्ती साउदका अनुसार जेनजी आन्दोलनका क्रममा गत भदौ २४ मा यहाँबाट २८ भारतीयसहित ४ सय ५७ जना कैदीबन्दी फरार भएका थिए । जसमध्ये १७ भारतीयसहित ९२ जना अझै सम्पर्कमा आएका छैनन् ।
कारागारमा लागूऔषधका कैदीबन्दी पनि उल्लेख्य
जेलर साउदले हालका वर्षमा विविध प्रकारका आपराधिक घटनासँगै लागूऔषधसम्बन्धी कसुरका कैदीबन्दीको संख्या बढ्न थालेपछि कारागारको व्यवस्थापनसँगै सुरक्षा चुनौती पनि थपिएको बताइन् । उनका अनुसार कारागारमा लागूऔषधका कैदीबन्दीको उल्लेख्य उपस्थिति देखिन थालेको छ । कारागारको वैशाख १४ को कैदीबन्दी विवरणअनुसार कारागारमा रहेका ३ सय ५० कैदीबन्दीमध्ये १ सय २७ जना लागूऔषध सम्बद्ध रहेका छन् ।
‘एकातिर कारागारको भौतिक संरचना थपिएको छैन, कैदीबन्दी भने थपिएको थपियै छन्,’ जेलर साउदले भनिन्, ‘त्यसैमाथि लागूऔषधसम्बन्धी कैदीबन्दीको चाप बढ्न थालेपछि कैदीबन्दी व्यवस्थापनमा समस्या थपिएको छ ।’ उनका अनुसार कारागार आफैंमा सुधारगृह पनि हो । त्यसकारण लागूऔषध र अन्य अपराधका कैदीबन्दीलाई फरक व्यवहार हुने गर्दछ । ‘लागूऔषध दुर्व्यसनका कैदीबन्दीलाई मेडिकल परामर्श र उपचारका लागि बेग्लै व्यवस्था आवश्यकता रहेको छ,’ उनले भनिन ।
आफूले पहिलो पटक जेलर पदको जिम्मेवारी वहन गरिरहेको ३ महिना मात्रै भएको जानकारी दिँदै उनले भनिन्, ‘लागूऔषधका दुर्व्यसनी लगायतका अपराधमा संलग्नलाई कारागारमा थुन्ने काम मात्रै भयो, थुनिसकेपछि उनीहरूको अवस्था सुधारका लागि पहल हुन सकेन ।’ अपराधी आफैं दुर्व्यसनी पनि भएको अवस्थाका कैदीबन्दीलाई व्यवस्थापन गर्न समस्या हुने र विभिन्न समयमा कारागारभित्र हुने झगडा र कुटपिटको प्रमुख कारण लागूऔषधका कैदीबन्दीको उचित व्यवस्थापन हुन नसक्नु पनि रहेको उनले बताइन् ।
जेलर साउदका अनुसार प्रत्येक प्रदेशमा लागूऔषधका कैदीबन्दी र थुनुवा राख्न सक्ने बेग्लै व्यवस्था हुनुपर्ने आवश्यकता देखिएको छ । ‘यसबाहेक कारागारको वर्तमान क्षमता व्यवस्थित र आधुनिक रूपमा बिस्तार गरिनुपर्ने र कारागारलाई सुधारगृहका रूपमा विकसित गरिनु पर्ने देखिन्छ,’ जेलर साउदले भनिन्, ‘कञ्चनपुर कारागारको भौतिक पूर्वाधार विस्तारका लागि गत वर्ष नै डीपीआर तयार त भएको हो तर हालसम्म थप निर्माण कार्य सुरु हुन सकेको छैन ।’कान्तिपुरबाट


