धनगढी: सुदूरपश्चिम प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागी प्रदेश सरकारले प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर मुख्यमन्त्री कमलबहादुर शाहले अधिवेशन बोलाउन सिफारिस गरेका हुन्।
प्रदेश प्रमुख निवासमा भएको भेटमा समसामयिक राजनीतिक अवस्था, सरकारको आगामी प्राथमिकता र प्रदेशसभाको अधिवेशन आह्वानका विषयमा विस्तृत छलफल भएको बताइएको छ। भेटका क्रममा मुख्यमन्त्री शाहले प्रदेशसभा बैठक बोलाउने विषयलाई प्राथमिकतामा राख्दै अधिवेशन चाँडै सुरु गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैशाख १७ गते बिहीबार अपराह्न ४:०० बजे प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष औपचारिक सिफारिस गरेका छन्। उक्त सिफारिस अनुसार अब प्रदेश प्रमुखबाट अधिवेशन आह्वान हुने प्रक्रिया अघि बढ्नेछ।
आगामी अधिवेशनमा नीति तथा कार्यक्रम, बजेट तयारी, विकास आयोजना, तथा जनसरोकारका विभिन्न विषयहरूमा छलफल हुने अपेक्षा गरिएको छ। साथै, सरकारका कामकारबाहीप्रति प्रतिपक्षको धारणा, सुझाव र आलोचनाले पनि अधिवेशनलाई थप अर्थपूर्ण बनाउने विश्वास गरिएको छ।


