धनगढी: सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मियाँले “नेपालमा सम्भावना छैन” भन्ने धारणा गलत रूपमा प्रस्तुत गरिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। धनगढीमा आयोजित नेपाल वितरक महासंघको १४औँ साधारणसभालाई सम्बोधन गर्दै उहाँले प्राकृतिक, आर्थिक तथा मानवीय स्रोतका हिसाबले समृद्ध देशलाई सम्भावनाहीन भन्नु दुर्भाग्यपूर्ण रहेको बताउनुभयो।
उहाँले विगतमा नेपाललाई भारतसँग तुलना गरेर “केही भएन” भन्ने प्रवृत्ति रहेको स्मरण गर्दै अहिले जापान, अमेरिका र अष्ट्रेलियासँग तुलना गरेर निराशा फैलाउने काम भइरहेको उल्लेख गर्नुभयो। “नेपालले विकासको गति समातेको धेरै समय भएको छैन, छोटो अवधिमै महत्वपूर्ण उपलब्धि हासिल भएका छन्,” उहाँले भन्नुभयो, “तर भएका कामभन्दा नभएका कामको प्रचार बढी भइरहेको छ।” प्रदेश प्रमुख मियाँले स्वदेशमै अवसर सिर्जना गर्न सकिने उल्लेख गर्दै देशभित्रै लगानी र रोजगारीका सम्भावना खोज्न आग्रह गर्नुभयो। कक्षा १२ पास गर्नेबित्तिकै युवा विदेश जाने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले यस्तो प्रवृत्तिले देशको दीर्घकालीन विकासमा असर पार्ने बताउनुभयो। “विदेश गएर फर्किएर देशमै योगदान गर्नेहरू सम्मानका पात्र हुन्,” उहाँले भन्नुभयो, “तर सधैंका लागि देश छोड्ने प्रवृत्ति रोक्न आवश्यक छ।”
उहाँले सुदूरपश्चिम प्रदेशलाई सम्भावनाको खानीका रूपमा व्याख्या गर्दै यहाँका वन–जंगल, कृषि र पर्यटन क्षेत्रमा लगानी गर्न सके उल्लेखनीय प्रतिफल प्राप्त हुने धारणा राख्नुभयो। कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमले संघीय सरकारले अपेक्षाअनुसार बजेट विनियोजन नगर्दा प्रदेश विकासमा पछि परेको उल्लेख गर्नुभयो। आवश्यक लगानी अभावकै कारण यहाँका सम्भावनाहरू पूर्ण रूपमा उपयोग हुन नसकेको उहाँको भनाइ थियो।
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले महासंघले साधारणसभाका लागि धनगढी रोजेकोमा धन्यवाद व्यक्त गर्दै निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा वितरक व्यवसायीहरूको सहभागिता रहेको थियो भने व्यापार, लगानी र बजार व्यवस्थापनका विविध विषयमा छलफल गरिएको आयोजकले जनाएको छ।


