काठमाडौं: सशस्त्र प्रहरी बल (एपीएफ) ले तीन जना उपरीक्षक (एसपी) लाई सचेत गराएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालयले हेडक्वार्टरमा बोलाएर धनुषा, कैलाली र कपिलवस्तुका एसपीहरूलाई चेतावनीसहित फिर्ता पठाएको हो। स्रोतका अनुसार धनुषाका एसपी भीम विष्ट, कपिलवस्तुका एसपी गोपाल अधिकारी र कैलालीका एसपी खुम केसीलाई कमाण्ड तथा कार्यसम्पादनमा देखिएको कमजोरीका कारण सचेत गराइएको हो।
धनुषामा एसपी विष्ट मातहतका कर्मचारीमाथि आर्थिक अनियमितताको आरोप लागेको छ। यस्तै कैलाली र कपिलवस्तुमा सशस्त्र प्रहरी र स्थानीय समूहबीच विवाद उत्पन्न भएको थियो। ती घटनामा प्रभावकारी रूपमा कमाण्ड कन्ट्रोल गर्न नसकेको भन्दै सम्बन्धित एसपीहरूलाई स्पष्टीकरणसहित सचेत गराइएको जनाइएको छ।
प्रधान कार्यालयले आगामी दिनमा यस्ता कमजोरी दोहोरिए कडा कारबाही गर्ने चेतावनी दिएको छ। साथै सीमाक्षेत्रमा राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिइएको छ। तत्काल सुधार नदेखिए सम्बन्धित एसपीहरूलाई फिर्ता बोलाउने चेतावनीसमेत दिइएको स्रोतले जनाएको छ। अहिले उनीहरू स्पष्टीकरण सकेर कार्यक्षेत्र पुगिसकेको बुझिएको छ। यस अगाडि सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हलचोकले संगठनको नीतिविपरीत गतिविधिमा संलग्न भएको आशंकामा ती गणपतिहरूलाई मुख्यालय झिकाएको थियो।


