डोटी — बडिकेदार गाउँपालिकामा झण्डै दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक प्रशासनिक कामकाज प्रभावित बनेको छ। अधिकृत अभावका कारण योजना स्वीकृति, बजेट निकासा, सिफारिसलगायतका अत्यावश्यक सेवा प्रवाहमा ढिलाइ भइरहेको स्थानीयले गुनासो गरेका छन्। गाउँपालिकाका कर्मचारीहरूका अनुसार महत्त्वपूर्ण फाइल निर्णयको प्रतीक्षामा थन्किएका छन् भने विकास निर्माणसम्बन्धी कामसमेत सुस्त बनेको छ।
२०८२ चैत १९ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृत डिल्लीराम भट्टलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा सिफारिस गरे पनि उनी हालसम्म कार्यालयमा हाजिर हुन सकेका छैनन्। भट्टले पारिवारिक समस्याका कारण उपस्थित हुन नसकेको जानकारी दिएका छन् ।
गाउँपालिका अध्यक्ष भैरव साउँदले अधिकृत अभावका कारण कर्मचारीहरूले दुई महिनादेखि तलब नपाएको र योजना सम्झौतालगायतका प्रशासनिक काम तीन महिनादेखि प्रभावित भएको बताए। ‘हामीले मन्त्रालयमा पटक–पटक ताकेता गरेका छौं, तर कुनै पनि सुनुवाइ भएको छैन,’ उनले भने। पहाडी जिल्लाका दुर्गम ठाउँका पालिकामा कर्मचारी टिकाइराख्न चुनौती रहेको उनले बताए । ‘यस्ता ठाउँमा कर्मचारी आउनै मान्दैनन्, आए पनि टिक्दैनन्,’ उनले भने, ‘यसतर्फ सरकारले गम्भीर तरिकाले सोच्न आवश्यक छ।’


