बैतडी — सुर्नया गाउँपालिका ले शैक्षिक सत्र २०८२ का लागि आधारभूत तह (कक्षा ८) को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार गाउँपालिकाभित्रका विद्यालयहरूमा विद्यार्थीहरूको उपस्थिती, उत्तीर्ण संख्या तथा विद्यालयगत नतिजामा उल्लेखनीय अन्तर देखिएको छ। गाउँपालिकाका १९ विद्यालयका कुल ४५३ विद्यार्थी परीक्षामा सहभागी हुनुपर्नेमा १२ जना अनुपस्थित रहे। यससँगै ४४१ जना विद्यार्थीले परीक्षा दिएका थिए। परीक्षामा सहभागीमध्ये १३२ जना मात्र उत्तीर्ण भएका छन्, जसअनुसार समग्र उत्तीर्ण प्रतिशत २९.९ रहेको छ।
परीक्षामा सहभागी भएका ४ सय ४२ जनामध्ये १ सय ३२ जना मात्रै उत्तीर्ण भएका शिक्षा शाखा प्रमुख अवस्थीले बताए । परीक्षामा दुईओटा विद्यालयको नतिजा शून्य आएको छ । कैलपाल मावि झाड्बो र भुवनेश्वर मावि गोयलीको नतिजा शून्य आएको हो । कैलपाल माविका ३२ जना परीक्षार्थी सहभागी भएकोमा सबै अनुत्तीर्ण भएका छन् भने भुवनेश्वर मावि गोयलीका १६ जना परीक्षार्थी मध्ये १५ जना परीक्षामा सहभागी भएका र सबै अनुत्तीर्ण भएका गाउँपालिकाले जनाएको छ ।
राष्ट्रिय मावि फाटीगडाका ४५ जनामध्ये ३ जना उत्तीर्ण भएका छन् । यस्तै वासुदेव आवि तडीगाउँका १४ जनामध्ये ४ जना, वासुदेव मावि लिस्किटाका २७ मध्ये २०, भूमीराज मावि ढोलेका ३० मध्ये ४,विश्वेश्वर आवि बाँसका ८ मध्ये १, गलिनाथ आवि चौकाका २१ मध्ये १२, केदार आवि डुङरीका ५ मध्ये ४ र केदार मावि कठमडाका २१ मध्ये २ जना उत्तीर्ण भएका छन् । नेपाल राष्ट्रिय मावि ग्वानीका ४४ मध्ये ४२ जना परीक्षामा सहभागी भएका र ती मध्ये ६ जना उत्तीर्ण भएका छन् । पञ्चदेव आवि डबरालीका १७ मध्ये ४ जना उत्तीर्ण भएका छन् भने रौलेश्वर मावि रामकी बरायलका ३४ मध्ये ३३ जना परीक्षामा सहभागी भएका र ती मध्ये २० जना उत्तीर्ण भएका छन् ।
शंकर संस्कृत मावि मूलखटालीका ४२ जनामध्ये ३८ जना परीक्षामा सहभागी भएका र ती मध्ये १२ जना उत्तीर्ण भएका छन् । यस्तै भुवनेश्वर मावि चौथालीका १६ जना मध्ये ५ जना, सिद्धनाथ आवि धुलिधारका १३ जनामध्ये १२ जना परीक्षामा सहभागी भएका र ती मध्ये १ जना मात्रै उत्तीर्ण भएका छन् । सिगास मावि मुसेका ३४ जनामध्ये ३१ जना परीक्षामा सहभागी भएका र ती मध्ये १६ जना उत्तीर्ण भएका छन् । यस्तै उच्चाकोट मावि गुर्केलीका २१ मध्ये ९ जना र उदयदेव मावि पालिगडाका १३ मध्ये ९ जना उत्तीर्ण भएका सुर्नया गाउँपालिकाले जनाएको छ ।
सुर्नयामा गत बर्षको तुलनामा यो बर्षको कक्षा ८को नतिजा खस्केको छ । गत बर्ष ५० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए ।



