धनगढी — धनगढीस्थित नवजीवन सहकारीका अध्यक्ष देव बहादुर बमले सहकारीले आफ्ना सदस्यहरूलाई जन्मदेखि मृत्यु सम्म आवश्यक सेवा प्रदान गर्दै आएको बताएका छन्। ६७औँ सहकारी दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले सहकारीको भूमिका केवल बचत तथा ऋणमा सीमित नभई जीवनका विभिन्न चरणमा आवश्यक सहयोग प्रदान गर्ने रहेको उल्लेख गरे।
उनका अनुसार हाल नवजीवन सहकारीमा ४० हजार २५० जना सेयर सदस्य आबद्ध रहेका छन्। ती सदस्यहरूले विभिन्न सामाजिक, आर्थिक तथा आपतकालीन अवस्थामा सहकारीमार्फत सेवा लिँदै आएका छन्। सहकारीले सदस्यहरूको आवश्यकताअनुसार १ लाख रुपैयाँदेखि ५ करोड रुपैयाँसम्म ऋण प्रवाह गर्दै आएको अध्यक्ष बमले जानकारी दिए। साथै, बिना धितोसमेत ठूलो परिमाणमा लगानी गरिएको उनले बताए।
सहकारीले कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राख्दै चामल उद्योग सञ्चालन गरिरहेको छ। यस उद्योगमार्फत किसानका उत्पादन खरिद गरी उचित मूल्यमा बजारमा विक्री वितरण गर्दै आएको उनले बताए। यसले किसानलाई उत्पादनको उचित मूल्य दिलाउन र उपभोक्तालाई सुपथ दरमा खाद्यान्न उपलब्ध गराउन सहयोग पुगेको उनको भनाइ छ।
अध्यक्ष बमका अनुसार चार वर्षअघि करिब ४ अर्ब रुपैयाँको कारोबार गर्दै आएको सहकारीले हाल आफ्नो कारोबार उल्लेखनीय रूपमा वृद्धि गरेको छ। सहकारीलाई अझ सुदृढ बनाउन वैदेशिक भ्रमण तथा अनावश्यक खर्च कटौती गर्दै व्यवस्थापनलाई प्रभावकारी बनाइएको उनले बताए। देशका केही स्थानमा सहकारीहरू समस्यामा परेको अवस्था देखिए पनि यस क्षेत्रका सहकारीहरू भने स्थिर रहेको उनले दाबी गरे। नवजीवन सहकारीमा हाल १५१ जना कर्मचारी कार्यरत रहेका छन्, जसले सेवा प्रवाहलाई थप सुदृढ बनाएको छ।
अध्यक्ष बमले सहकारीलाई पारदर्शी, उत्तरदायी र सदस्यमुखी बनाउँदै अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्दै सबै सदस्यहरूलाई सहकार्य र विश्वास कायम राख्न आग्रह गरेका छन्।

