धनगढी — नेपाली सेनाले अनेकौं चुनौती छिचोल्दै गत असारमा पुरानो मन्दिर जिर्णोद्वार गर्दै पुरातात्त्विक मापदण्डमा नयाँ मन्दिर निर्माण गरेपछि बडिमालिकाको निकै चर्चा भएको थियो । यसपटक चुनावी प्रचारप्रसारका क्रममा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले धनगढीमा आयोजित सभामा ‘मान्छेले देशलाई स्विजरल्यान्ड बनाउनुपर्छ भन्छन्, तर स्विजरल्यान्डको बाउ बडिमालिका र त्यसको पराकाष्ठा रामारोशन यहीँ छ भने किन बनाउनु पर्यो स्विजरल्यान्ड ?’ भनेपछि बडिमालिकाको चर्चा पुनः चुलियो ।
देवीका शक्तिपीठहरूमध्ये बडिमालिकामा निर्माण गरिएको मन्दिर विश्वमै सबैभन्दा उच्च स्थानको कलात्मक मन्दिर हो । ४ हजार २ सय मिटरको उचाइमा अन्यत्र कुनै पनि स्थानमा देवीका कलात्मक मन्दिर निर्माण नभएको नेपाली सेनाको प्रारम्भिक अध्ययन छ । दोस्रो, अधिकांश समय हिउँ पर्ने बडिमालिकामा कलात्मक मन्दिर निर्माण सम्पन्न गर्नु चानचुने कुरा थिएन । सेनाको कठोर मिहिनेत र जोखिमले मात्र त्यो सम्भव भएको थियो ।
प्रधानमन्त्री नहुँदै बडिमालिकाबारे शाहले गरेको टिप्पणी निकै भाइरल भयो । त्यसको करिब दुई महिनापछि शाह प्रधानमन्त्री बनिसकेका छन् । उनी प्रधानमन्त्री भएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकबाट शासकीय सुधारका एक सय कार्यसूची जारी भए । उक्त कार्यसूचीको ७२ नम्बर बुँदामा बाजुराको बडिमालिकामा ट्रेक्रिङ रुटसहित व्यवस्थित पर्यटनका अध्ययन गरी एक महिनाभित्र कार्यान्वयनयोग्य खाका प्रस्तुत गर्ने भनिएको छ । उक्त निर्णयले बडिमालिकाको धार्मिक तथा पर्यटकीय महत्त्व तथा पर्यटन विकासको सम्भावनालाई झल्काएको पर्यटन व्यवसायी बताउँछन् । कार्यसूचीमा तोकिएबमोजिम बडिमालिकामा ट्रेक्रिङ रुटसहित व्यवस्थित पर्यटनका अध्ययनको विस्तृत प्रक्रिया र प्रगति भने सार्वजनिक भइसकेको छैन ।
यता सुदूरपश्चिम प्रदेश सरकारले पनि बडिमालिका क्षेत्रको पर्यटन विकासका लागि ‘कार्ययोजना तयारी कार्यदल’ गठन गरेर काम गरिरहेको जनाएको छ । प्रदेश सरकारले गत मंसिर २ मा बाजुराबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद पदमबहादुर शाहीको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा बाजुराका प्रदेश सांसद नरेशकुमार शाही र जुना दानीसहित मन्त्रालयका सचिव, वन निर्देशक, पर्यटन इकाई प्रमुख, बाजुराका त्रिवेणी, बडिमालिका र बुढीनन्दा नगरपालिकाका नगरप्रमुख र पर्यटन व्यवसायी उक्त कार्यदलमा सदस्य रहेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका वन अधिकृत दानबहादुर थापाले बताए । थापाका अनुसार पाँच महिना अवधि तोकेर कार्यदल गठन गरिएको हो ।
हालसम्म उक्त कार्यदलले बाजुरामा सरोकारवालासँग बैठक, मन्त्रालयमा विभिन्न चरणमा बैठक सम्पन्न गरेको थापाको भनाइ छ । ‘बडिमालिकामा विगतमा भएका कार्यक्रमको समीक्षा गर्ने, पूर्वाधार विकास र पर्यटन प्रवर्द्धन गर्न आगामी दिनमा गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन कार्ययोजना तयार गर्ने कार्यदलको मुख्य उद्देश्य हो,’ थापाले भने ‘कार्यदलका सदस्यहरू यसअघि हिमपात हुने भएकाले बडिमालिका पुग्न नसकेर फर्किएका हुन्, अब फेरि जाने तयारी छ ।’ उनले संघ सरकारले हालै जारी गरेको कार्यसूचीमा उल्लेख भएअनुसार कार्यान्वयनका क्रममा प्रदेश र संघ सरकारका निकायबीच समन्वय हुने बताए । ‘अहिलेसम्म उक्त कार्यसूचीअन्तर्गत बडिमालिकाको सन्दर्भ कार्यान्वयन गर्ने जिम्मेवार निकायबारे जानकारी भएको छैन, जिम्मेवार निकायबारे जानकारी भएपछि प्रदेश र संघको कार्यदलबीच समन्वयमा काम गर्छौं,’ थापाले भने ।
प्रदेशको कार्यदलले तयार गरिरहेको बडिमालिका विकास योजनाअन्तर्गत त्यस क्षेत्रको पर्यटन विकासका लागि सहज पहुँच, पदमार्ग विकास, आवास तथा खानालगायत आधारभूत सुविधा उपलब्ध हुने प्रकृतिमैत्री र स्थानीय साधनस्रोतमा आधारित पूर्वाधार विकास गर्नुपर्ने आवश्यकतामा आधारित कार्ययोजना निर्माण भइरहेको जनाएको छ । बाजुराबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य जनकराज गिरीले हालै मात्र अर्थमन्त्रीसँग बडिमालिकाको पर्यटन विकासका बारेमा जानकारी गराएर प्राथमिकताका साथ आवश्यक योजना अघि बढाउन अनुरोध गरेको बताए ।
बडिमालिकाका पुजारी नेत्रराज पाध्यायका अनुसार बडिमालिका मन्दिर आदिमकालमा स्थापना भएको हो । स्कन्दपुराणको मानसखण्डमा उल्लेख भएअनुसार सत्यदेवीले आफ्ना पीता दक्षप्रजातिको यज्ञमा अग्निदाह गरेपछि महादेव सत्यदेवीको मृत शरीर लिएर पृथ्वी भ्रमण गर्न थाले । यसरी ठाउँठाउँमा सत्यदेवीका अंगहरू पतन हुँदै झर्दै खस्न थाले । सत्यदेवीका अंगहरु जहाँजहाँ पतन भए त्यहाँ शक्तिपीठ स्थापना भए । त्यसै क्रममा बाजुराको मल्लागिरी पर्वत (बडिमालिका) मा उनको बायाँ कुम पतन भयो । त्यही मल्लागिरीमा बडिमालिकाको मन्दिर स्थापना गरेर पूजा गर्न थालिएको जनश्रुति छ ।
बडिमालिकाका अध्ययेता बाजुराका जहरसिंह थापाका अनुसार बडिमालिका देवीको पहिलो देउरो (मन्दिर) निर्माण बाजुराका दीपराज छत्यालले गरेका थिए । त्यसपछि शाके १५९१ मा जुम्लाका कल्यालवंशी राजा वीरभद्र शाहीले बाजुराको ढाडाकोटको कालापानी भन्ने ठाउँबाट ढुंगा बोकाएर बडिमालिकामा मन्दिर निर्माण गराएका थिए ।
शाके १६७९ मा कल्यालवंशी राजा शुरदर्शन शाहले बडिमालिका मन्दिर मर्मत गराउनुका साथै मूर्ति स्थापना गरेका थिए । त्यसपछि ०३६-०३७ तिर तत्कालील जिल्ला विकास बाजुराका सभापति छत्रबहादुर शाह र पैमाका पुजारीहरूको सक्रियतामा मन्दिर निर्माण गरिएको थियो । नेपाली सेनाले गत वर्ष प्राचीन स्मारक ऐन २०१३ अनुसार पुरातत्व विभागको डिजाइनमा बडिमालिका नेपाली शैलीको मन्दिर निर्माण गरेको हो । मन्दिर निर्माण गर्न सेनाले भुटानको राजदरबार निर्माणमा संलग्न रहेको अनुभव भएका कालीगढ झिकाएको थियो । जैविक विविधताको खजानाका रूपमा रहेको बडिमालिका मानवजातिका लागि प्रकृतिले दिएको अनुपम उपहार मानिन्छ । बाजुराको त्रिवेणी नगरपालिका-६ मा अवस्थित छ बडिमालिका । कान्तिपुरबाट


