धनगढीः धनगढी उपमहानगरपालिकाले पछिल्लो चार वर्षमा ४९४ जना अपाङ्गता भएका नागरिकलाई खोजीखोजी निःशुल्क सहायक सामग्री वितरण गरेको छ। अपाङ्गता भएका व्यक्तिको जीवन सहज बनाउने उद्देश्यले २०७९ सालदेखि सुरु गरिएको कार्यक्रमअन्तर्गत हालसम्म २० प्रकारका ५३८ सहायक सामग्री वितरण गरिएको उपमहानगरले जनाएको छ।
उपमहानगरले अपाङ्गताको प्रकृतिअनुसार व्हिलचेयर, वाकर, कृत्रिम हातखुट्टा, बैसाखी, सेतो छडी, सिपी चेयर, क्रचेज, ट्राइसाइकल र कमोड चेयरलगायतका सामग्री उपलब्ध गराउँदै आएको छ। सम्मानपूर्ण जीवनयापन र सेवामा सहज पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित यो अभियान सञ्चालन गरिएको हो। स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीका अनुसार सहायक सामग्री आवश्यक पर्ने व्यक्तिको पहिचान गर्न हरेक वर्ष पालिकालाई पाँच क्लस्टरमा विभाजन गरी स्क्रिनिङ शिविर सञ्चालन गरिन्छ। त्यसपछि सम्बन्धित व्यक्तिको घरदैलोमै पुगेर सामग्री वितरण गरिने गरिएको छ।
आर्थिक वर्ष २०७९/८० मा १८९ जनालाई २०५ सामग्री, २०८०/८१ मा १९६ जनालाई २१७ सामग्री, २०८१/८२ मा १०९ जनालाई ११६ सामग्री र चालु आर्थिक वर्ष २०८२/८३ मा २५७ जनाको स्क्रिनिङ गरी ३१८ सामग्री वितरण गरिएको छ। क्लस्टरअनुसार फूलबारी क्षेत्रमा १२८ जनाले १३९ सामग्री, उर्मा क्लस्टरमा ११८ जनाले १२५ सामग्री, जुगेडा क्लस्टरमा ९० जनाले ९५ सामग्री, बेला क्लस्टरमा ६२ जनाले ६६ सामग्री र धनगढी क्लस्टरमा ९६ जनाले ११३ सामग्री प्राप्त गरेका छन्।
यस अवधिमा १४६ वटा व्हिलचेयर, ४५ ट्राइसाइकल, २० वाकर, १६ कृत्रिम हातखुट्टा, १०१ वाकिङ स्टिक, ५८ क्रचेज र एक सिपी चेयर वितरण गरिएको छ। हालसम्म ६५ लाख १६ हजार ४ सय रुपैयाँ बराबरको सामग्री वितरण भइसकेको छ भने चालु आर्थिक वर्षका लागि १८ लाख रुपैयाँ बराबरको सामग्री खरिद प्रक्रिया अघि बढाइएको उपमहानगरले जनाएको छ। नगर प्रमुख गोपाल हमालले स्थानीय सरकारले नागरिकमुखी सेवा प्रवाहलाई प्राथमिकता दिँदै अपाङ्गता भएका व्यक्तिलाई सम्मानपूर्वक जीवनयापनमा सहयोग पुर्याउन यस्तो अभियान सञ्चालन गरिएको बताए। उनले धनगढीका १९ वटै वडामा रहेका अपाङ्गता भएका नागरिकलाई खोज्दै हरेक वर्ष सहायक सामग्री वितरण गरिँदै आएको उल्लेख गरे।

