धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीले इलाका प्रहरी कार्यालय मालाखेतीसँग सम्बन्धित एक विवादास्पद घटनामा डीएसपीसहित तीन जनालाई नसिहत दिने र अन्य १० जनालाई सचेत गराउने निर्णय गरेको छ। स्रोतका अनुसार मालाखेतीका कार्यालय प्रमुखसमेत रहेका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्द, तत्कालीन मुद्दा शाखा प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारी र वरिष्ठ सई दिपेन्द्र भट्टलाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) अनुसार अभिलेखमा जनिने गरी पहिलो पटक नसिहत दिइएको हो।
उनीहरूलाई नियमावलीको परिच्छेद १० अन्तर्गत नियम ११० को देहाय (क) अनुसार कसुर ठहर गर्दै नियम ११९ को उपनियम (१) देहाय ६ (क) बमोजिम कारबाही गरिएको जनाइएको छ। यसैगरी, सोही घटनामा संलग्न अन्य १० जना प्रहरी कर्मचारीलाई भने रेकर्डमा जनिनेगरी सचेत गराइएको छ। यो कारबाही साउन ९ गते मध्यराति कैलालीको गोदावरी नगरपालिका–८ मा दुई युवक पक्राउ परेको घटनासँग सम्बन्धित हो। पक्राउ परेका चन्द्रबहादुर चौधरी र राजकुमार चौधरीबाट भरुवा बन्दुक, चित्तलको जस्तो देखिने सिङ र खुर बरामद गरिएको थियो। तर, बरामद गरिएको सामग्रीमध्ये सिङ र खुरको विवरण मुद्दा दर्ता गर्दा उल्लेख नगरिएको र हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा मात्र चलाइएको पाइएपछि प्रहरीको भूमिकामाथि प्रश्न उठेको थियो।
दराजमा लुकाइएका भनिएका सिङ र खुर फेला परेपछि कार्यालय प्रमुखसहित सम्बन्धित प्रहरी कर्मचारीमाथि आशंका बढेको थियो। सोही आधारमा गरिएको विस्तृत छानबिनपछि डीएसपी चन्दसहित तीन जनालाई नसिहत र अन्य १० जनालाई सचेत गराउने निर्णय गरिएको हो। घटनामा कुल १३ जना प्रहरी कर्मचारीमाथि कारबाही सिफारिस गरिएको थियो। उक्त घटनाले बरामद सामग्री व्यवस्थापन र मुद्दा दर्ता प्रक्रियामा प्रहरीको कार्यशैलीबारे गम्भीर प्रश्न उठाएको छ।

