धनगढी । धनगढीमा बिहीबार विद्यार्थीहरुबीच भएको झडपको घटनामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले त्रिनगर स्कुल अगाडिको घटनामा १५ वर्षीय किशोरमाथि कुटपिट गर्ने दुई जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिए । केही भने फरार छन् ।
यस्तै धनगढी–३ बस्ने १६ वर्षीय किशोर कुटिएको घटनामा भने ९ जनालाई पक्राउ गरिएको छ । उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैजना विद्यार्थी छन् । कक्षा ८ को बोर्ड परीक्षाको अन्तिम दिन बिहीबार विद्यार्थीहरुबीच झडप भएको थियो । झडपबाट घाइते विद्यार्थी भने डिस्चार्ज भइसकेका छन् । आपसी झगडाको ठूलो कुनै कारण अहिलेसम्म नदेखिएको प्रहरीले जनाएको छ ।

