धनगढी – नेपाली कांग्रेस कैलाली जिल्ला कार्यसमितिले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा भएको भनिएको आर्थिक लेनदेन प्रकरणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
जिल्ला सभापति नारायण दत्त भट्ट द्वारा जारी प्रेस विज्ञप्तिमा नेपाली कांग्रेस का केही नेता तथा कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी का उम्मेदवारसँग आर्थिक लेनदेन गरेको भन्ने आरोप सार्वजनिक भएको उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार जिल्ला कार्यसमितिले फागुन ११ गते नै पार्टी उम्मेदवारलाई विजयी गराउन र समानुपातिक मत वृद्धि गर्न निर्देशन दिएको थियो। साथै, निर्वाचन परिणामपछि चैत १ गते सबै क्षेत्रीय कार्यसमिति र उम्मेदवारलाई पराजयका कारण, अनुभव र सुधारका उपायसहितको प्रतिवेदन पठाउन निर्देशन गरिएको थियो।
तर, सो निर्देशन विपरीत क्षेत्र नम्बर ५ का उम्मेदवार नरनारायण शाह (मनु) ले धनगढीस्थित एक मिडियामा दिएको अन्तर्वार्तामा कांग्रेसका ५७ जना नेता–कार्यकर्ताले पैसाको चलखेल गर्दै मत बदलेको गम्भीर आरोप लगाएका छन्।
जिल्ला कार्यसमितिले उक्त विषयमा सत्य–तथ्य सार्वजनिक गर्न सम्बन्धित पक्षसँग माग गरेको छ भने आवश्यक परे छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने उल्लेख गरेको छ।

