डोटी — फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले केही समय डोटीका गाउँमा चहलपहल भयो । वर्षौँदेखि सुनसानजस्तै देखिँदै आएका बस्तीमा निर्वाचनका बेला चहलपहल बढ्यो । निर्वाचन प्रचारप्रसारदेखि मतपरिणाम आउँदासम्म बस्तीमा धेरै समयदेखि बन्द रहेका घरआँगन खुले, चोक–चौतारामा गफिनेको संख्या बाक्लियो, बजारमा भीड देखियो। तर त्यो रौनक धेरै दिन टिकेन। निर्वाचन सकिएपछि गाउँबस्तीको चहलपहल हराउन थालेको छ ।मतदान सकिएको केही दिनबाटै गाउँहरू फेरि पुरानै अवस्थामा फर्किन थालेका हुन्।
चुनावका लागि गाउँ फर्किएका अधिकांश मतदाता पुनः आफ्ना कार्यस्थलतर्फ लागिसकेका छन्। रोजगारी, अध्ययन र बसोबासका कारण देशका विभिन्न सहर तथा छिमेकी देश भारतसम्म पुगेका डोटीका नागरिक मतदानका लागि मात्रै गाउँ फर्किएका थिए। चुनावकै लागि आएका शिखर नगरपालिका–५ का घनश्याम शर्मा कर्मथलो कैलाली फर्किसकेका छन् । ‘नाम यतै भएकाले भोट हाल्न त आउनै पर्यो,’ उनले भने, ‘तर रोजगारी र परिवारको कारण फेरि फर्किनुपरेको छ । हामीसँगै आएका धेरैजसो फर्किसके ।’
निर्वाचनका दिन नजिकिँदै गर्दा गाउँका चोक–चौतारामा चर्किएका राजनीतिक बहस, घरदैलोमा आएका उम्मेदवार र तिनका कार्यकर्ताले गाउँबस्तीमा निकै चहलपपहल भएको थियो । पुराना साथीभाईको भेट, आफन्तसँगको जमघट, लामो समयपछि खुलेका घरले गाउँमा उत्साहको झल्को दिएको थियो, स्थानीय व्यवसायी खेम जोशीले भने, चुनावपछि मानिसहरू फेरि आफ्ना गन्तव्यतर्फ लागे। गाउँ सुनसान हुन थालिसके ।
डोटीका अधिकांश ग्रामीण बस्तीमा यो दृश्य नयाँ होइन। बसाइँसराइ, वैदेशिक रोजगारी र अध्ययनका कारण युवाशक्ति गाउँबाट टाढिँदै गएको छ। चाडपर्व वा विशेष अवसरमा मात्रै गाउँमा चहलपहल बढ्ने क्रम वर्षौंदेखि दोहोरिँदै आएको जोशी बताउँछन् । कान्तिपुरबाट


