धनगढी । कैलालीको खक्रौला नाकामा भारतबाट नेपालतर्फ ल्याइरहेको सामान बरामद गरेको विषय विवाद हुँदा सशस्त्र प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ । मंगलबार साँझ टीकापुरको एसजीए ट्रेड एण्ड सप्लायर्सले भारतबाट जीएसटी बिलसहित ल्याइएको सामान सशस्त्र प्रहरीको बीओपी खक्रौलाले बरामद गरेको थियो ।
उक्त सामानलाई अवैध भनेपछि सशस्त्रका बीओपी प्रमुख डीएसपी प्रदीप पौडेलले विवाद सुरु गरेको व्यवसायीको आरोप छ । टीकापुर उद्योग वाणिज्य संघसहितका व्यवसायीले उक्त कदमको विरोध गरेपछि सशस्त्र प्रहरीको बीओपी खक्रौलाले सम्बन्धित व्यवसायीलाई बरामद गरिएका सामान फिर्ता गरिसकेको छ । उद्योग वाणिज्य संघका महासचिव प्रकाश तिमिल्सिनाले सीमा क्षेत्रमा व्यवसायीलाई सशस्त्र प्रहरीले अनावश्यक दुःख र हैरान दिन थालेको आरोप लगाए ।
‘अवैध रुपमा हुने चोरी, तस्करी रोक्नुपर्ने दायित्व स्थानीय प्रशासनको हो । त्यो कार्यमा हामी व्यवसायीले पनि सहयोग गरेकै छौँ,’ तिमिल्सिनाले भने, ‘तर खक्रौलामा सशस्त्रले बिल बिजक भएकै सामान पनि अवैध भनेर बरामद गर्दै दुःख दिन थाल्यो । उनले मंगलबार समेत सोही खालको कार्य दोहोरिएपछि बीओपीमै पुगेर डीएसपी प्रदीप पौडेलको ध्यानाकर्षण गराइएको र सामान फिर्ता ल्याइएको बताए ।
यो विषयलाई लिएर बुधबार बीओपी पुगेको एक समूहले डीएसपी प्रदीप पौडेलमाथि हातपात गरेको भिडियोसमेत सार्वजनिक भएको छ । घटनाको छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ बाहिनीले समिति गठन गरेको छ । बाहिनीमा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक एसपी अनिल कार्कीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको वैद्यनाथ बाहिनीका निमित्त प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिगविजय सुवेदीले जानकारी दिए । सुवेदीले समितिलाई खक्रौला बीओपी घटनाबारे छानबिन गरेर प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको बताए । उनका अनुसार बीओपीमा कार्यरत सशस्त्र प्रहरीमाथि कारबाही प्रक्रियासमेत अगाडि बढिसकेको छ ।
त्यस्तै एसएसपी सुवेदीले बीओपी खक्रौलामा कार्यरत डीएसपी बाहेकका सबैलाई गणमा तान्न निर्देशन दिएका छन् । स्रोतकाअनुसार सुवेदीले बुधबार नै डीएसपी प्रदीप पौडेलबाहेक बीओपीमा कार्यरत ३३ जना सशस्त्र प्रहरीलाई धनगढीस्थित गणमा तानेर नयाँ टिम पठाउन निर्देशन दिएका थिए । र, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण धनगढीले भने उक्त निर्देशन अहिलेसम्म कार्यान्वयन गरेको छैन ।
गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक एसपी खुमबहादुर केसीले भने अहिलेसम्म कसैलाई पनि गणमा नझिकाइएको बताए । बीओपीमा कार्यरतलाई गणमा तान्ने नतान्ने विषयमा भने छानविन पछि मात्र निर्णय लिइने उनी बताउँछन् । ‘तर, बाहिनीले भने डीएसपीबारे हेटक्वाटरले निर्णय लिने र अन्य सशस्त्र प्रहरी कर्मचारीलाई गणमा तानेर कारवाही प्रक्रिया थालिने जनाएको छ ।

