बझाङ — बझाङको चैनपुरमा एक किशोरी मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको मस्टा गाउँपालिका–३ भातेखोला ढडार घर भएकी अन्दाजी १६–१७ वर्षीया अस्मिता धामी मृत अवस्थामा भेटिएकी हुन्। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी दिपक बिष्टका अनुसार धामी आइतबार बिहान चैनपुरको रिङरोड क्षेत्रमा रहेको घरभित्र आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी हुन्। उनी केही समयदेखि उक्त स्थानमा बस्दै आएकी थिइन्।
स्थानीयले बिहान ढोका नखुलेपछि शंका लागेर हेर्दा उनी कोठाभित्र मृत अवस्थामा रहेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का तयार पार्दै आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ। प्रहरीका अनुसार घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र पोस्टमार्टम रिपोर्टपछि मात्र मृत्युको कारणबारे स्पष्ट हुने बताइएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनासँग सम्बन्धित सबै पक्षको अनुसन्धान भइरहेको र आवश्यक तथ्य संकलन गर्ने काम जारी रहेको जनाएको छ।

