कञ्चनपुर । होली पर्वका अवसरमा अमर्यादित, उच्छृङ्खल, अवाञ्छित तथा गैरकानुनी गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले सार्वजनिक स्थानमा होहल्ला, जुलुस, भीडभाड, मदिरा सेवन तथा बिक्रीवितरण, जबर्जस्ती रङ दल्ने, फोहर पानी छ्याप्नेजस्ता कार्य गर्नेमाथि प्रचलित कानुनअनुसार कारबाही हुने बताए ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्ष्य गर्दै लागू गरिएको निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४ को दफा १३९घ० अनुसार जुलुस वा आमसभामा सहभागी हुने तथा प्रचारप्रसारमा संलग्न व्यक्तिले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्नअङ्कित लोगो, स्टिकर, टिसर्ट, टोपी, झोला, गम्छालगायत सामग्री प्रयोग गर्न नपाइने व्यवस्था रहेको उनले उल्लेख गरे ।
सोही प्रावधानअनुसार होलीका अवसरमा निर्वाचन चिह्न वा उम्मेदवारको तस्बिरअङ्कित सामग्री प्रयोग गरेमा पनि कारबाही गरिने जनाइएको छ । धार्मिक तथा सांस्कृतिक पर्वलाई सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन आग्रह गरिएको छ । अरूको इच्छाविपरीत रङ दल्ने, लोला हान्ने, पानी छ्याप्ने तथा सार्वजनिक शान्ति भङ्ग गर्ने कार्य नगर्न सचेत गराइएको छ । कानुनविपरीतका गतिविधि भए प्रचलित कानुन र आचारसंहिताअनुसार कडा कदम चालिने प्रशासनले स्पष्ट पारेको छ । शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै नागरिकलाई जिम्मेवार ढङ्गले पर्व मनाउन अनुरोध गरिएको छ ।


