कञ्चनपुरः मतदानको दिन प्रयोग गरिने सवारी साधनका लागि अनुमति लिन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आग्रह गरेको छ । बिहीबार सूचना जारी गर्दै प्रशासनले मतदानको दिनभन्दा दुई दिनअघि नै मतदानमा प्रयोग हुने सवारी साधनको अनुमति लिन अनुरोध गरेको हो । उम्मेदवार वा उम्मेदवारका प्रतिनिधि, राष्ट्रिय पर्यवेक्षक तथा सञ्चार माध्यमले अनिवार्य रूपमा सम्बन्धित निकायको सिफारिससहित सवारी अनुमति पत्रका लागि फागुन १९ गतेसम्म निवेदन दिन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिले दुई, तीन वा चार पाङ्ग्रेमध्ये कुनै एक सवारी साधनका लागि अनुसूची–३ बमोजिम मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिई मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको सिफारिससहित निवेदन पेस गर्नुपर्नेछ । त्यसैगरी, राष्ट्रिय पर्यवेक्षकले दुई वा चार पाङ्ग्रेमध्ये कुनै एक सवारी साधनका लागि निर्वाचन अधिकृतको सिफारिससहित निवेदन पेस गर्नुपर्नेछ । संवैधानिक निकायका प्रदेश तथा जिल्लास्थित कार्यालयहरूले पनि निर्वाचन अधिकृतको सिफारिससहित निवेदन पेस गर्न प्रशासनले अनुरोध गरेको छ ।
सञ्चार माध्यमका हकमा प्रत्येक सञ्चार संस्थालाई बढीमा पाँच वटासम्म सवारी साधनका लागि जिल्लास्थित पत्रकार महासङ्घको सिफारिससहित निवेदन पेस गर्न प्रशासनले आग्रह गरेको छ ।


