धनगढी: सुदूरपश्चिम प्रदेशको व्यापारिक केन्द्र हो, धनगढी उपमहानगरपालिका । प्रदेशको अस्थायी राजधानी पनि भएकाले धनगढी क्षेत्रको चुनाव सुदूरपश्चिमभरका नागरिकको चासोमा हुन्छ । कैलारी गाउँपालिकाका दुई वडासँगै धनगढी उपमहानगरको भूगोल समावेश भएको कैलाली– ५ मा यतिबेला चुनावी सरगर्मी ह्वात्तै बढेको छ । निर्वाचनका लागि ६ दिन मात्रै बाँकी रहँदा उम्मेदवारहरू मतदाता रिझाउन अन्तिम कसरत गरिरहेका छन् । कैलाली– ५ को पृष्ठभूमि हेर्दा कांग्रेसको पकड क्षेत्र रहेको देखिन्छ । २०१५ सालयता भएका एक उपनिर्वाचनसहित ९ वटा आमनिर्वाचनमा कांग्रेस ६ पटक विजयी भएको छ, यो क्षेत्रबाट । दुईपटक एमाले र एकपटक तत्कालीन माओवादीका उम्मेदवार विजयी छन्, कैलाली– ५ को भूगोलबाट । २०१५ सालमा कांग्रेसका लोकेन्द्रबहादुर शाह, २०४८ मा कांग्रेसका टेकबहादुर चोखाल, २०५१ मा एमालेका महेश्वर पाठक र २०५६ मा कांग्रेसका टेकबहादुर चोखाल विजयी भएका थिए, यस क्षेत्रबाट ।
२०६४ सालदेखिका निर्वाचनमा भने कैलाली– ५ का मतदाताले प्रायस् फरक परिणाम दिँदै आएका छन् । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा यो क्षेत्रको अधिकांश भाग कैलाली– ६ मा थियो । उक्त निर्वाचनमा माओवादीकी लिला भण्डारी निर्वाचित भएकी थिइन् । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा यहाँका मतदाताले फरक परिणाम दिए । कांग्रेसका शेरबहादुर देउवा विजयी भए । डडेल्धुराबाट पनि विजयी भएका देउवाले कैलाली छोडेपछि यहाँ उपनिर्वाचन भयो । २०७१ सालमा भएको उपनिर्वाचनमा कांग्रेसकै पुष्करनाथ ओझा विजयी भए । २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा कैलाली– ५ सबैभन्दा बढी चर्चामा थियो । तत्कालीन प्रधानमन्त्रीसमेत रहेका देउवाले पत्नी आरजु राणा देउवालाई उम्मेदवार बनाएर पठाएका थिए । तर, कैलाली– ५ का मतदाताले २०७१ सालको परिणामलाई उल्ट्याइदिए । आरजुलाई पराजित गर्दै एमालेका नारदमुनि राना विजयी भए । २०७९ सालको निर्वाचनमा पनि कैलाली– ५ प्रतिनिधि दोहर्याउन अनइच्छुक देखियो र पुनः कांग्रेसलाई जिताइदियो । उक्त निर्वाचनमा कांग्रेसका डिल्लीराज पन्तले एमालेका रानालाई पराजित गरेका थिए ।
१ लाख १० हजार ५३९ मतदाता रहेको कैलाली– ५ मा आसन्न निर्वाचनका लागि १६ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेपाली कांग्रेसका नरनारायण शाह ‘मनु’, एमालेका यज्ञराज ढुंगाना, नेपाली कम्युनिस्ट पार्टीका प्रेमबहादुर आले र रास्वपाका आनन्दबहादुर चन्दबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ । कांग्रेस उम्मेदवार मनु राजनीतिक परिवारको विरासत बोकेका नेताका रूपमा परिचित छन् । २०१५ सालमा यसै क्षेत्रबाट विजयी भएका लोकेन्द्रबहादुर शाहका नाती हुन्, उनी । उनका बुबा मोहनबहादुर शाह २०४९ सालमा जिल्ला विकास समितिका सभापति थिए । मनुसँग तरुण दल कैलालीका अध्यक्ष हुँदै कांग्रेस कैलालीको सहसचिव र दुई कार्यकाल सभापति पद सम्हालेको अनुभव छ । अहिले उनी कांग्रेस सुदूरपश्चिमका महामन्त्री पनि हुन् ।
राजनीतिक विरासतसँगै मनुको सामाजिक संस्थामा रहेको सक्रियता र बलियो संगठनका कारण कैलाली– ५ मा जित सुनिश्चत भएको बताउँछन्, कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनार । ‘विगतदेखि नै यो क्षेत्रमा कांग्रेसको पकड बलियो छ,’ सुनारले भने, ‘२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थियौँ । समानुपातिक मत पनि सबैभन्दा बढी हाम्रै थियो । प्रदेशमा पनि लडेको सिटमा जित निकालेका थियौँ । योपटक कांग्रेस एकढिक्का भएका कारण पनि हामी कैलाली– ५ मा सहज जित निकाल्छौँ । त्यसमाथि उम्मेदबार दर्जनौँ सामाजिक संस्थामा सक्रिय रहनुभएको व्यक्ति भएकाले हामीलाई झन सहज हुन्छ ।’
कांग्रेस कैलालीका नेताहरूका अनुसार ५ नम्बर क्षेत्रमा पार्टीका नेता–कार्यकर्ता शाहलाई जिताउन एक भएर लागेका छन् । ‘विशेष र नियमित महाधिवेशनका कारण पार्टीमा विभाजन आउँला र निर्वाचन असर पार्ला भन्ने आशंका थियो,’ एक नेताले भने, ‘तर, कैलाली– ५ मा पार्टीभित्र अभूतपूर्ण एकता देखिएको छ । २०७० सालमा शेरबहादुर देउवा लड्दा पनि यस्तो एकता थिएन ।’ पहिलोपटक चुनावी मैदानमा उत्रिएका शाहले सेती अस्पतालको स्तरोन्नति गर्ने, धनगढी उपमहानगरपालिकालाई महानगर बनाउने र गेटाको विश्वविद्यालयलाई पूर्णता दिने एजेन्डा सार्वजनिक गरेका छन् । जनताको सेवा र समस्या समाधानको केन्द्र काठमाडौं नभई आफ्नै निर्वाचन क्षेत्रलाई बनाउने उनको दाबी छ । ‘देश संघीयतामा गइसकेपछि पनि यदि जनताले सानो कामका लागि पनि सिंहदरबार धाउनुपर्छ भने संघीयताको अर्थ रहँदैन,’ उनी भन्छन्, ‘म निर्वाचित भए भने मेरो सचिवालय यही क्षेत्रमा राख्छु, र जनताका सबै समस्या यहीँबाट समाधान गर्नेछु ।’
कांग्रेसले यहाँ आफ्नो मुख्य प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ठानेको छ । २०७९ सालको समानुपातिक मतका आधारमा कांग्रेस, एमाले, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीभन्दा पछाडि रहेको थियो, नेकपाको मुख्य घटक माओवादी केन्द्र । एकीकृत समाजवादीले यहाँ हजार मत पनि कटाउन सकेको थिएन । सांगठनिक रूपमा कमजोर देखिएको नेकपा अहिले मुख्य प्रतिस्पर्धीका रूपमा देखिएको छ । यसको मुख्य कारण हो, नेकपाबाट प्रेमबहादुर आलेको उम्मेदवारी । उनी डोटीमा ह्याट्रिक जित निकालेर कैलाली– ५ मा झरकेका छन् ।
‘अरुलाई जिताए सांसद मात्रै हुने हुन्, आफ्ना उम्मेदवारलाई जिताए शक्तिशाली मन्त्रालयको नेतृत्व गर्न पाउँछन्,’ भन्दै अहिले कैलाली– ५ मा नेकपाले भोट मागिरहेको छ । आलेले लामो समयदेखि चर्चामा रहेको धनगढीको फाप्लामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने योजनालाई आफ्नो प्रतिबद्धताको एक नम्बरमै राखेका छन् । उनले धनगढीलाई क्रिकेट हवको रूपमा विकास गरी युवालाई खेलकुद, अनुशासन र राष्ट्र निर्माणमा जोड्ने आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । यसैगरी, धनगढी विमानस्थलको धावनमार्गलाई विस्तार गरी २५ सय मिटर पुर्याउने, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ३०० देखि ६०० शय्याको अस्पताल सञ्चालन गर्ने र एमबीबीएसलगायतका विषयहरूको अध्ययन अध्यापनको सुरुवात गरेर सर्वसुलभ उपचारको व्यवस्था गरिने प्रतिपबद्धता पनि आलेको छ । आले कैलाली– ५ मा डोटी ‘फ्याक्टर’ले पनि आफू विजयी हुने अनुमानमा छन् । मुख्य दलका अन्य उम्मेदवारमध्ये आफ्नो मात्रै घर डोटी भएकाले डोटेली मतदाताले आफूलाई रोज्ने उनको विश्वास छ । कैलाली– ५ मा विगतदेखि नै क्षेत्रीयताको राजनीतिक हुँदै आएको छ ।
कैलाली– ५ मै आले नभई राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० आफ्नो मुख्य प्रतिस्पर्धी रहेको बताउने कांग्रेसी पनि कम छैनन् । देशभर रास्वपाप्रति देखिएको लहर र पुराना दलप्रति देखिएको वितृष्णाले रास्वपा उम्मेदवार चन्द प्रतिस्पर्धामा रहेको एकथरी कांग्रेस नेता–कार्यकर्ताको बुझाइ छ । ‘शहरमा मात्रै नभएर गाउँतिर पनि मतदाताको मुखमा घण्टी मात्रै सुनिन्छ,’ कांग्रेसकै एक नेताले भने, ‘त्यसकारण यहाँ कांग्रेसको प्रतिस्पर्धी रास्वपा नै भएको हाम्रो बुझाइ हो ।’
अघिल्लो चुनावमा रास्वपाले यो क्षेत्रमा ३ हजार ४०५ मत पाएको थियो । समानुपातिकमा ४ हजार ४५५ मत पाएको छ । रास्वपाले यो क्षेत्रमा उम्मेदवार बनाएका चन्द राजनीतिभन्दा पनि स्वास्थ्य अभियन्ताको रूपमा बढी चिनिन्छन् । चन्द सुर्तीजन्य पदार्थ नियन्त्रण र नसर्ने रोगविरुद्धको अभियन्ता हुन् । तर, धनगढीमा रास्वपाको संगठन बनाएका संस्थापक सभापति ईश्वरी विष्टले पार्टी परित्याग गरेका छन् । नगर समितिले उम्मेदवारका लागि एकल सिफारिस गरेका भीमबहादुर बोहराको समूह पनि असन्तुष्ट छ । यसले चन्दलाई आफ्नोपक्षमा नतिजा पार्न सहज नहुने आकलन गरिएको छ । चन्दले आफू विजयी भए सेती प्रादेशिक अस्पताल र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एकीकृत स्वास्थ्य–शिक्षा इकोसिस्टमका रूपमा विकास गर्ने, आधुनिक तथा डिजिटल स्वास्थ्य प्रणाली लागू गर्ने, फाप्ला मैदान निर्माण गर्ने, धनगढीमा पर्यटन प्रवर्द्धन गर्ने बताएका छन् । यस्तै, धनगढी विमानस्थल स्तरोन्नति गर्ने र धनगढीलाई प्रदेशको औद्योगिक र व्यापारिक केन्द्रका रूपमा विकास गर्ने, त्रिनगर नाकाको स्तरोन्नति गर्ने र लागुऔषध नियन्त्रणका योजना कार्यान्वयन गर्ने पनि चन्दको दाबी छ ।
एमालेका उम्मेदवार यज्ञराज ढुंगाना पहिलोपटक चुनावी मैदानमा होमिएका छन् । उनी एमालेको जिल्ला कमिटी अध्यक्ष हुन् । २०७९ सालको निर्वाचनअनुसार एमाले कांग्रेसपछि सांगठनिक रूपमा बलियो देखिन्छ । तर, यसपटक एमालेलाई कांग्रेस, नेकपा र रास्वपाले नै मुख्य प्रतिस्पर्धीका रूपमा हेरेका छैनन् । ‘विगतमा नारदमुनि राना उम्मेदवार हुँदा राना समुदायको मत एकलौटी रूपमा उनैलाई जाने गरेको थियो,’ एमाले कैलालीका एक नेता भन्छन्, ‘यसपटक मुख्य दलका सबै उम्मेदवार पहाडी भएकाले राना समुदायको मत पनि बाँडिने देखिन्छ । यसले एमालेलाई झन कमजोर बनाएको छ ।’
एमाले उम्मेदवार ढुंगाना भने आफू निर्वाचनमा जितको निकै नजिक पुगेको दाबी गर्छन् । उनले पार्टी संगठन, कार्यकर्ता तथा आमनागरिकबाट उत्साहजनक समर्थन प्राप्त भइरहेको बताए । ‘युवा उम्मेदवार भएकै कारण म जनताको अपेक्षा र चाहनालाई नजिकबाट बुझ्न सक्षम छु,’ उनले भने । उनले धनगढीलाई महानगर बनाउने, सबै वडामा आईटी सेवा विस्तार गर्ने, विद्यालय, स्वास्थ्य संस्था र सरकारी कार्यालयमा डिजिटल पूर्वाधार सुदृढ गर्ने योजना अघि सारेका छन् ।


