धनगढी: डडेल्धुराबाट २०४८ सालदेखि २०७९ सालसम्मका हरेक निर्वाचन जितेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आसन्न निर्वाचनमा उम्मेदवार छैनन् । हुन् त उनी अन्तिमपटक डडेल्धुराबाटै निर्वाचन लड्न चाहन्थे । तर, विशेष महाधिवेशनमार्फत नेतृत्व खोसिएपछि निर्वाचन आयोगहुँदै अदालत पुगेका देउवाले मनोनयन दर्ताको अघिल्लो राति चुनाव नलड्ने घोषणा गरे ।
उम्मेदवार नरहेका देउवा कांग्रेसको चुनावी कार्यक्रममा पनि कतै देखिएका छैनन् । न कांग्रेस उम्मेदवार जिताउन सार्वजनिक टिप्पणी नै दिएका छन् । प्रचारमा नदेखिएका देउवा मतदानका लागि भने गृहजिल्ला डडेल्धुरा पुग्ने चर्चा सुदूरपश्चिममा छ । ु२० फागुनमा उहाँ धनगढी आउनुहुन्छ,’ कांग्रेसका एक नेताले भने, ‘मतदानका लागि २१ फागुनमा उहाँ डडेल्धुरा जानुहुन्छ भन्ने जानकारी आएको छ ।’
तर, देउवा सचिवालयले भने मतदानका लागि डडेल्धुरा जाने वा नजानेबारे अहिले टुंगो नलागेको बताएको छ । ‘चुनावी कार्यक्रममा कतै पनि जाने कार्यक्रम छैन,’ देउवा सचिवालयले भन्यो, ‘तर, मदतानका लागि डडेल्धुरा जाने वा नजाने भन्नेबारे २–३ दिनभित्रै टुंगो लाग्छ ।’
निर्वाचनका लागि देउवा र उनकी पत्नी आरजु राणा देउवाको मतदान केन्द्र गन्यापधुरा गाउँपालिका– १ रुवाखोलास्थित असिग्राम माध्यमिक विद्यालय हो । २०७९ सालमा हेलिकोप्टरमा रुवाखोला पुगेका देउवाले सोही मतदान केन्द्रबाट मतदान गरेका थिए ।


