डोटी — निर्वाचनका कारण जिल्लाका गाउँबस्तीदेखि डाँडाकाँडामा चहलपहल फर्किएको छ । बाटाघाटमा ओहोरदोहोर गर्ने बढेका छन्। खेततिर कामकाजमा व्यस्त रहेका हाेस् वा गाउँका पसलतिर जम्मा हुने जोकाेही पनि चुनावी गफमा व्यस्त देखिन्छन् ।
यतिबेला जो जता व्यस्त भए पनि सबै फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा केन्द्रित देखिन्छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा ९ दलका उम्मेदवार चुनावी मैदानमा छन् । जिल्लामा कांग्रेस, एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच मुख्य प्रतिस्पर्धा देखिएको छ । मतदान नजिकिन थालेपछि उम्मेदवारले नै जिल्लाबाहिर रहेका मतदाता फर्काइरहेका छन् । कोही चुनावी माहोल हेर्न र भोट हाल्न स्वत: स्फूर्त फर्किरहेका छन् ।
दलका चुनावी अभियानले गाउँ–सहरको दूरी मेटिदिएको छ । जिल्लाका साँघुरा बाटा हुँदै उम्मेदवार मतदाताको घरदैलोमा पुगिरहेका छन् । चिया पसलमा पनि गाउँको विकास र रोजगारीको बहस भइरहेको छ । युवाहरू सामाजिक सन्जालमा समर्थन र आलोचनामा व्यस्त छन् ।
यसपटक कसले चुनाव जित्छ भन्दा कसले काम गर्छ भन्ने कुरालाई मतदाताले जोड दिइरहेका छन् । भावनात्मक लगाव, पारिवारिक सम्बन्ध र पुराना राजनीतिक निष्ठाले मतदाताको निर्णय अझै प्रभाव पारिरहेको देखिन्छ । कांग्रेसलाई परम्परागत संगठनात्मक बलमा अझै भरोसा छ ।
०७९ को स्थानीय तह निर्वाचनमा ७ वटा पालिकामा प्रमुख र एक पालिकामा उपप्रमुख निर्वाचित भएको तथ्यले कांग्रेसको आत्मबल बलियो भएको छ । ‘डोटी हाम्रो साझा घर हो,’ कांग्रेस उम्मेदवार भरतबहादुर खड्काले भने, ‘यहाँको माटो, डाँडाकााडा, यहाँका युवाको सपना र आमाबुवाको आशा नै मेरो शक्ति हो ।’ विकास केवल नारामा सीमित नगरेर योजना बनाएर काम गर्ने उनको भनाई छ ।
विगतमा कांग्रेसभित्र झाँगिएको आन्तरिक अन्तरघातको छाया अझै हटेको छैन । कांग्रेस कार्यकर्ता अहिले पनि आफूहरु एक भएमात्र जित सहज हुने स्वीकार्छन् । विभाजित भएमा जित हाासिल गर्न कठिन हुने बताउँछन् । रास्वपा उम्मेदवार नरेन्द्रबहादुर खड्का यसपटक कांग्रेसका लागि चुनौती बन्न सक्ने देखिन्छन् । कांग्रेस पृष्ठभूमिबाट आएका खड्काले कति मत आकर्षित गर्छन् भन्ने प्रश्नले पार्टीभित्र तरंग सिर्जना गरेको छ ।
एमालेले यसपटक विद्यार्थी राजनीतिबाट उदाएका दिपक धामीलाई उम्मेदवार बनाउँदै नयाँ पुस्ताप्रतिको आकर्षणलाई मतमा रूपान्तरण गर्ने रणनीति लिएको छ । ‘देशले परिवर्तन चाहन्छ र त्यो परिवर्तन गर्ने युवाहरू हुन्,’ धामीले भने, ‘डोटीमा केवल वाचा होइन, स्पष्ट योजना र काम गर्ने इमानदार नेतृत्व हो । हामी युवालाई विदेश पठाउने होइन, डोटीमै रोजगारी सिर्जना गर्ने अभियानमा लाग्नेछौं ।’
कृषि, पर्यटन र साना उद्योगमा अवसर सिर्जना गर्दै सडक, सिँचाइ, शिक्षा र स्वास्थ्यमा दीर्घकालीन योजना बनाउने उनले बताए । प्रविधिसँग जोडिएको आधुनिक कृषि, सीपमूलक तालिम र उद्यमशीलता कार्यक्रममार्फत युवालाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको उनले बताए ।
पूर्वमुख्यमन्त्री तथा नेकपा उम्मेदवार त्रिलोचन भट्टको उम्मेदवारीले पार्टीमा उत्साह थपेको छ । ‘मैले जिम्मेवारीमा हुादा डोटीका ६५ वटै वडामा विकासका काम अघि बढाएको छु,’ भट्टले भने, ‘मतदाताले मेरो कामको मूल्यांकन गरेर मलाई साथ दिनेमा विश्वास छ ।’ संगठन कमजोर भए पनि आफूले गरेको ‘कामको राजनीति’ले मत तान्ने रणनीति उनको छ ।
डोटीमा १ सय १८ मतदानस्थल र १ सय ८० मतदान केन्द्र तोकिएका छन् । १ लाख २८ हजार ३ सय ९९ मतदाता छन् । पहाडी भूगोल, टाढाटाढाका बस्ती र भौगोलिक चुनौतीका बाबजुद निर्वाचनको उत्साह बढ्दै गएको छ । विकास, रोजगारी, पूर्वाधार, शिक्षा र स्वास्थ्य जस्ता मुद्दा निर्णायक बन्ने देखिएको छ ।


