धनगढी – सुभारम्भ मन्टेश्वरी स्कुलले आफ्नो छैटौँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ। धनगढी उपमहानगरपालिका–८, क्याम्पसरोडमा अवस्थित विद्यालयले सांस्कृतिक, शैक्षिक तथा सम्मान कार्यक्रमसहित उत्साहपूर्वक वार्षिकोत्सव मनाएको हो।
विद्यालयका संस्थापक प्रिन्सिपल जानकी भट्टको अध्यक्षता तथा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला कुमारी रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
वार्षिकोत्सव उद्घाटन गर्दै उपप्रमुख रानाले मन्टेश्वरी शिक्षाको विकासमा सुभारम्भले महत्वपूर्ण भूमिका खेलेको बताइन्। बालबालिकालाई सानैदेखि संस्कारयुक्त र व्यवहारिक शिक्षा दिन सके उज्ज्वल भविष्य निर्माण गर्न सकिने उनको भनाइ थियो। त्यसैगरी वडा नम्बर ८ का वडा अध्यक्ष जुगराम चौधरीले बालबालिकाको भविष्य निर्माणका लागि सकारात्मक, रचनात्मक तथा व्यवहारिक दिशानिर्देशसहित सहज वातावरणमा शिक्षासँगै संस्कारको पाठ सिकाउनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रमका विशिष्ट अतिथि प्याब्सन धनगढीका नगर सभापति धुव्र सिंहले बालबालिका सबल र सक्षम भए देशको जग बलियो हुने धारणा व्यक्त गरे। उनले शिक्षासँगै संस्कार र संस्कृतिको ज्ञानले मात्रै सक्षम नागरिक निर्माण हुने बताए। कार्यक्रममा धनगढी नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मण दत्त भट्ट लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
विभिन्न क्षेत्रमा योगदानकर्तालाई सम्मान
वार्षिकोत्सवको अवसरमा स्वास्थ्य तथा खेल क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। स्वास्थ्य क्षेत्रमा योगदान दिएका बाल रोग विशेषज्ञ डा। प्रदिप मिश्र र हिमालयन गौरिशंकर डेन्टलका सञ्चालक रतन एसकेलाई सम्मान गरिएको छ। त्यसैगरी खेल क्षेत्रमा योगदान पुर्याएका अन्तर्राष्ट्रिय कराँते रेफ्री प्रकाश कुमार चन्दलाई समेत सम्मानित गरिएको थियो।त्यस्तै कला साहित्य क्षेत्रमा योगदान दिएको भन्दै किङस मोसन डान्स सेन्टरका आदेस महत्व लाई पनि सम्मान गरिएको छ ।
विद्यालयका सञ्चालक मोहन राज ओझाका अनुसार विद्यालयमा मन्टेश्वरी तालिम प्राप्त शिक्षिकाहरूद्वारा मन्टेश्वरी विधिअनुसार शिक्षण–सिकाइ गरिँदै आएको छ। खेल विधिमार्फत सिकाइ र सीप विकासमा विशेष ध्यान दिइने गरिएको उनले जानकारी दिए।

उनका अनुसार विद्यालयले बालबालिकाको आहार, अनुशासन, शिक्षा, संस्कार, चाडपर्व तथा जन्मदिनलाई समेत मध्यनजर गर्दै विविध कार्यक्रम आयोजना गर्दै आएको छ। विद्यार्थीको चौतर्फी विकासका लागि पढाइसँगै मौलिक चाडपर्व, रीतिरिवाज तथा संस्कारसम्बन्धी कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गरिँदै आएको उनले बताए।
सांस्कृतिक प्रस्तुति र पुरस्कार वितरण
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न समूहमा विभाजन भई नृत्य तथा अन्य सिर्जनात्मक प्रस्तुति दिएका थिए। उनीहरूको प्रस्तुति उपस्थित अभिभावक तथा अतिथिबाट प्रशंसा प्राप्त गरेको थियो। सो अवसरमा शैक्षिक, अनुशासन, नियमितता तथा अतिरिक्त क्रियाकलापतर्फ उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले मेडल तथा पुरस्कार प्रदान गरेका थिए। विद्यालयले स्थापनाको छैटौँ वर्ष पूरा गर्दै शैक्षिक गुणस्तर, संस्कारयुक्त शिक्षण प्रणाली तथा विद्यार्थीको समग्र विकासलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।



