धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ले आगामी फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन मातहतका सबै निकायलाई स्पष्ट निर्देशन दिनुभएको छ। मंगलबार धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित उच्चस्तरीय बैठकमा विभागीय मन्त्री, राज्यमन्त्री, प्रमुख सचिव, सचिवहरू, कैलालीका प्रमुख जिल्ला अधिकारी तथा प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो।
बैठकमा मुख्यमन्त्री शाहले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनु प्रदेश सरकारको समेत दायित्व भएको उल्लेख गर्दै सबै निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। “निर्वाचन लोकतन्त्रको आधारस्तम्भ हो, यसलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्छ,” उहाँले भन्नुभयो। निर्वाचनको सन्दर्भमा प्रदेश सरकार पूर्ण रूपमा सहयोगी र प्रतिबद्ध रहेको स्पष्ट पार्दै उहाँले कुनै पनि प्रकारको लापरबाही सहन नहुने चेतावनी दिनुभयो। संघीय सरकारले निर्वाचनका लागि आवश्यक संयन्त्र परिचालन गरिसकेको र निर्वाचन सामग्रीसमेत सम्बन्धित जिल्लाहरूमा पुगिसकेको जानकारी दिँदै मुख्यमन्त्री शाहले प्रदेशस्तरबाट सुरक्षाको प्रत्याभूति दिन निर्देशन दिनुभयो। विशेषगरी संवेदनशील क्षेत्रहरूमा सुरक्षा व्यवस्थालाई कडा बनाउन, मतदाता तथा कर्मचारीलाई सुरक्षित वातावरण सुनिश्चित गर्न र अफवाह नियन्त्रणका लागि सूचना प्रवाह प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको जनाइएको छ।
बैठकमा सुरक्षा निकायका प्रमुखहरूले आ–आफ्नो तयारी अवस्थाबारे जानकारी गराएका थिए। उनीहरूले निर्वाचन अवधिभर संयुक्त गस्ती, निगरानी र आकस्मिक प्रतिकार योजनालाई सक्रिय बनाइने बताएका छन्। प्रमुख जिल्ला अधिकारीले पनि जिल्ला सुरक्षा समितिमार्फत आवश्यक रणनीति तय गरिसकेको जानकारी गराउनुभएको थियो। यसैबीच बैठकले फागुन ७ गते मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस–२०८२ लाई भव्य रूपमा मनाउने निर्णयसमेत गरेको छ। दिवसका अवसरमा मुख्यमन्त्री शाहको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। प्रदेशभरका सरकारी कार्यालयमा राष्ट्रिय झण्डा सजाउने, बेलुका दीप प्रज्वलन गर्ने तथा सञ्चार माध्यममार्फत शुभकामना सन्देश प्रसारण गर्ने कार्यक्रम तय गरिएको छ।
त्यसैगरी, धनगढीमा पृथ्वीनारायण चोकदेखि शहिद स्मारक चटकपुरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिनेछ। उक्त कार्यक्रममा विभिन्न सरकारी निकाय, सुरक्षा बल, विद्यार्थी, संघसंस्था तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ।
बैठकमा सहभागी मन्त्री, सचिव तथा सुरक्षा अधिकारीहरूले प्रदेश सरकारको निर्देशन कार्यान्वयनमा पूर्ण प्रतिबद्धता जनाएका छन्। निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै निकायबीच समन्वय र सहकार्यलाई थप सुदृढ गरिने निष्कर्ष बैठकले निकालेको छ।


