धनगढी — कैलाली जिल्लाको कैलारी गाउँपालिका–१ स्थित हुलाकी सडक खण्डमा मंगलबार दिउँसो भएको सवारी दुर्घटनामा एक महिलाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दिउँसो करिब ३ बजेतिर कैलारी–१ हुलाकीरोडमा विपरीत दिशाबाट आइरहेका स्कारपियो गाडी र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा परी गम्भीर घाइते भएकी मोटरसाइकल चालक कैलारी गाउँपालिका–५ बस्ने अन्दाजी ३०–३५ वर्षीया ईप्सा चौधरीको उपचारका क्रममा नवजिवन अस्पताल मा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कैलारी गाउँपालिका–७ का वडा अध्यक्ष दिपेन्द्र बमले चलाएको भे १ च ४२७५ नम्बरको महेन्द्रा कोरेक्स (स्कारपियो) र से ५ प २७८२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो। स्कारपियोमा सवार कैलारी–७ का ५० वर्षीय तारा चौधरी गम्भीर घाइते भएका छन्। उनको नवजिवन अस्पतालमा उपचार भइरहेको छ। त्यसैगरी सोही गाडीमा सवार ३४ वर्षीय बलिराम चौधरीको शरीर तथा बायाँ हातमा चोट लागेको छ भने ३१ वर्षीय कमलेस चौधरीको बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। बलिरामको अवस्था मध्यम र कमलेसको अवस्था सामान्य रहेको बताइएको छ।
दुर्घटनामा संलग्न गाडी चालक तथा वडा अध्यक्ष बमको मुखमा सामान्य चोट लागेको थियो। प्राथमिक उपचारपछि उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।


