धनगढीः महाकाली लोकमार्ग अन्तर्गत पर्ने दार्चुलाको खलङ्गा–गोकुलेश्वर सडकखण्डको धौलीगाडखोलामा विगत १२ वर्षदेखि निर्माण अलपत्र अवस्थामा रहेको मोटरेबल पुलको निर्माण सुरु भएको छ । सङ्घीय सरकारले पुलको बाँकी काम सम्पन्न गर्न बजेट विनियोजन गरेपछि पुल निर्माणको काम सुरु भएको हो । पुल निर्माणका लागि सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा दुई करोड रुपियाँ विनियोजन गरेको नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गतको सडक डिभिजन, कार्यालय बैतडीका इन्जिनियर एवं सूचना अधिकारी कपिलप्रसाद पन्तले जानकारी दिए।
पुलको बायाँतर्फको पिल्लरको निर्माण करिब ७० प्रतिशत भएकोमा बाँकी संरचनाको निर्माण गर्नुपर्ने उनले बताए। आर्थिक वर्ष २०७०र७१ मा धनगढीको आशिष कन्स्ट्रक्सन निर्माण कम्पनीसँग पुल निर्माण गर्न सम्झौता भएर काम सुरु गरेको कम्पनीलाई जग्गाधनीले रोकेपछि पुल निर्माणको काम रोकिएर अलपत्र परेको थियो । पुल निर्माण कम्पनीले उतिबेला एकतर्फको पिल्लर मात्रै निर्माण गरेको थियो । जिल्ला सदरमुकाम खलङ्गानजिकै महाकाली नगरपालिका–५, गल्फैस्थित पुल निर्माण हुने स्थानमा रहेको जमिनको मुआब्जा वितरणमा ढिलाइ हुँदा पुल निर्माणको कामपछि धकेलिएको थियो ।
त्यस क्षेत्रका सातरआठ जना जग्गाधनीले सरकारी मूल्य अनुसारको मुआब्जा दिलाउनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि पुल निर्माणको काम पूर्णतया रोकिएको थियो । जग्गाधनीले मुआब्जा प्राप्त गरेपछि पुल निर्माणको बाटो खुलेपछि पुल निर्माणको काम सूरु गरिएको उनले बताए। पुलको बाँकी संरचना निर्माण गर्न पुरानै निर्माण व्यवसायी (आशिष कन्स्ट्रक्सनसँग) २०८३ असार १५ गते कार्य सम्पन्न गर्न नयाँ सम्झौता गरिएको उनले जानकारी दिए। महाकाली कोरिडोर अन्तर्गतको धौलीगाड खोलामा मोटर पुल निर्माण हुन नसक्दा बर्सातमा वारपार गर्न छोटो तथा लामो दुरीका सवारीसाधनलाई निकै समस्या हुने गरेको यहाँका स्थानीयले बताएका छन् ।
यो खोलामा २५ मिटर लम्बाइको स्पान पुल निर्माण गरिने इन्जिनियर पन्तले जानकारी दिनुभयो । तोकिएको समयावधिभित्रै पुल निर्माण गर्ने गरी बाँकी संरचनाको काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि लालबहादुर चन्दले बताए।


