बाजुरा: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुराबाट नेकपा एमालेको उम्मेदवार बनेका लालबहादुर थापा अहिले मातृशोकमा छन् । उनकी माता कलशी थापाको ८९ वर्षको उमेरमा गत माघ २४ गते निधन भएको हो । आमाको निधनपछि अहिले पनि उनी किरिया बसेकै अवस्थामा छन् । तर, मातृशोकमा भए पनि लालबहादुर थापा घरमै सीमित छैनन् । उनी बाजुराको गाउँ, बस्ती पुग्दै मतदाताको ढोका ढकढक्याई जनतासामु मत मागिरहेका छन् ।
थापाले मतदातासँग भेट्दा पटकपक भन्छन्, ‘आज आमा साथमा छैनन्, तर आमा जसरी नै बाजुरालाई माया गरेर सेवा गर्ने मेरो संकल्प अझ बलियो बनेको छ ।’ आमा गुमाएको शोकलाई आमबाजुरावासीलाई साथमा लिएर शक्तिमा बदल्ने आफ्नो धारणा रहेको थापाले बताए । किरियापुत्रीको पहिरनमा भोट माग्न पुगेका थापाले मतदाताहरूको मन जित्ने प्रयास गरिरहेका छन्। बाजुरामा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ । उनी जिल्लाका नौवटै स्थानीय तहका मतदाताको घरमा मत माग्न पुगेका छन् ।


