धनगढी: नेकपा एमालेको तर्फबाट कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार यज्ञराज ढुंगानाले नेपाल पछिल्लो समय विभिन्न बाह्य हस्तक्षेपको प्रभावमा चलिरहेको आरोप लगाएका छन्। निर्वाचन प्रचार–प्रसारअन्तर्गत कैलाली क्षेत्र नम्बर ५ मा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले बाह्य हस्तक्षेप नियन्त्रण गर्न नसके देश गम्भीर दुर्घटनातर्फ जान सक्ने चेतावनी दिए।
ढुंगानाले पछिल्लो समय विदेशी शक्तिको चलखेलका कारण विभिन्न शक्ति केन्द्रहरू उदाउँदै गएको दाबी गरे। “आज देशको राजनीतिक अवस्था नियाल्दा विदेशीको चलखेल स्पष्ट देखिन्छ,” उनले भने, “यसले राष्ट्रिय स्वाधीनता र आत्मसम्मानमाथि प्रश्न उठाएको छ।” उनले आफू र नेकपा एमाले नेपाललाई एक स्वतन्त्र, सार्वभौम र स्वाभिमानी मुलुकका रूपमा अघि बढाउन चाहने स्पष्ट पारे। “हामी कसैको हस्तक्षेपमा देश चलाउन चाहँदैनौँ,” ढुंगानाले भने, “हामी आफ्नो भूमि कसैलाई मिच्न दिँदैनौँ र अरूको भूमि पनि मिच्दैनौँ।”
नेकपा एमाले देशको एकमात्र राष्ट्रवादी शक्ति भएको दाबी गर्दै ढुंगानाले देशभक्त नागरिकहरूको पहिलो रोजाइ एमाले नै हुने बताए। “राष्ट्र, राष्ट्रियता र स्वाधीनताको सवालमा एमाले कहिल्यै सम्झौता गर्दैन,” उनले जोड दिए। विदेशी हस्तक्षेप आफूहरूलाई कुनै पनि हालतमा स्वीकार्य नहुने उल्लेख गर्दै ढुंगानाले राष्ट्रिय हितका पक्षमा दृढताका साथ उभिने प्रतिबद्धता व्यक्त गरे। उनले देशको भविष्य सुरक्षित गर्न बलियो राष्ट्रवादी नेतृत्व आवश्यक रहेको बताउँदै त्यसका लागि मतदाताको समर्थन अपरिहार्य रहेको धारणा राखे।
स्थानीय मतदाताहरूले राष्ट्रियता, स्वाधीनता र स्थिर शासनप्रणाली अहिलेको मुख्य आवश्यकता भएको प्रतिक्रिया दिएका छन्।


