धनगढी । नेपाली काँग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार नरनारायण शाह ९मनु० ले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
धनगढीमा आज पत्रकार सम्मेलन गर्दै क्षेत्रीय सभापति भिम पडालले उम्मेदवार शाहको प्रतिबद्धतापत्र वाचन गरी सार्वजनिक गरेका हुन् । प्रतिबद्धतापत्रमार्फत उम्मेदवार शाहले नीति तथा कानून, युवा रोजगारी, शिक्षा–स्वास्थ्य, कृषि, उद्योग, पूर्वाधार, सुशासन, पर्यटन र समावेशी विकासलाई आफ्नो प्राथमिक एजेन्डा बनाउने स्पष्ट पारेका छन् । प्रतिबद्धतापत्रमा सुदूरपश्चिम प्रदेशलाई समृद्ध प्रदेश बनाउने उद्देश्यसहित प्रतिनिधि सभा र संसदका विभिन्न समितिमा प्रभावकारी भूमिका निर्वाह गर्ने अठोट व्यक्त गरिएको छ । शाहले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, पश्चिमसेती र पञ्चेश्वर जलविद्युत आयोजना, महाकाली करिडोर, सेती लोकमार्ग, २२० केभी प्रसारण लाइन विस्तार लगायतका राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयनका लागि संसदमा सशक्त आवाज उठाउने प्रतिबद्धता जनाएका छन् ।
धनगढी उपमहानगरपालिकालाई महानगरपालिकामा स्तरोन्नति गर्न संघीय सरकारसँग पहल गर्ने, भूमिहीन, सुकुम्बासी, दलित, मुक्त कमैया तथा मुक्त हलियाको दीर्घकालीन समस्या समाधान गर्दै लालपूर्जा वितरण प्रक्रिया तीव्र बनाउने विषय पनि प्रतिबद्धतामा समेटिएको छ । युवा पुस्तालाई केन्द्रमा राख्दै आधुनिक सूचना प्रविधि पार्क स्थापना गर्ने, युवा संवाद र नवप्रवर्तन प्लेटफर्मु मार्फत जेनजीको आवाज नीतिमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । धनगढीमा प्रस्तावित नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी स्थापना गर्न जग्गा र पूर्वाधारको व्यवस्था गर्ने पहल गर्ने उम्मेदवार शाहले जनाएका छन् ।
स्वदेशमै रोजगारी सिर्जना गर्न सीपमूलक तालिम, व्यवसाय इन्कुवेसन सेन्टर, स्टार्टअप इकोसिस्टम विकास र निजी क्षेत्रसँग सहकार्यमा युवामैत्री रोजगारी नीति निर्माणमा संसदमा सक्रिय भूमिका खेल्ने उनको भनाइ छ । साथै लागूऔषध दुव्र्यसन न्यूनीकरणका लागि अभिभावक, विद्यालय र स्थानीय प्रशासनको सहकार्यमा अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
गेटामा रहेको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पूर्ण क्षमतामा सञ्चालन गरी मेडिकल अध्ययन सुरु गर्न आवश्यक बजेट सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ । सेती प्रादेशिक अस्पतालको संगठनात्मक संरचना सुधार गरी गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने, नगर स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सकको व्यवस्था गर्ने तथा २५ शैयाको अस्पताल स्थापना गर्ने विषय पनि प्रतिबद्धतामा समावेश छ ।
सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार, डिजिटल कक्षा, विज्ञान प्रयोगशाला तथा प्रविधिमैत्री शिक्षा प्रवद्र्धनका लागि बजेट सुनिश्चित गर्ने अठोट व्यक्त गरिएको छ । धनगढी रंगशालालाई आधुनिक रंगशालाको रूपमा विकास गर्ने र विभिन्न वडाका खेलमैदान स्तरोन्नतिका लागि पहल गरिने उल्लेख छ ।

