धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको सुझबुझपूर्ण पहलले निर्वाचन सुनिश्चित भएको दाबी गरेका छन्। बिहीबार कैलाली–२ मा कांग्रेस नेताकार्यकर्तासँग कुराकानी गर्दै मुख्यमन्त्री शाहले यस्तो दाबी गरेका हुन्।
‘जेन–जी आन्दोलनपछि गठन भएको सरकारले निर्वाचनको मिति तोकिसकेको अवस्थामा निर्वाचन हुने–नहुने भन्ने अन्योल सिर्जना भइरहेको थियो,’ मुख्यमन्त्री शाहले भने, ‘त्यो बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सुझबुझपूर्ण पहलमा राजनीतिक दलहरूसँग छलफल भएको र त्यसपछि राष्ट्रपति समक्ष बसेको सर्वदलीय बैठकले निर्वाचनको मिति सुनिश्चित गरेको हो।’
उनले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनु संघीय सरकारको प्रमुख जिम्मेवारी रहेको पनि बताए। तर सरकारबाट दल तथा युवा वर्गसँग पर्याप्त छलफल नभएको भने उनले सुनाए।
जेन–जी आन्दोलनपछि उठेका सवालहरूलाई नयाँ जनादेश मार्फत नै सम्बोधन गर्नु मुलुकको आवश्यकता रहेको पनि उनले बताए।


