धनगढी: २०औँ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस तथा ट्राफिक सप्ताहको अवसर पारेर ‘म रक्तदान गर्छु’ भन्ने मूल प्रतिबद्धतासहित धनगढीमा आयोजित विभिन्न रक्तदान कार्यक्रमबाट कुल ११२ पिन्ट रगत संकलन भएको छ। रक्तसञ्चार केन्द्र धनगढीका अनुसार ट्राफिक सप्ताह अन्तर्गत प्रदेश प्रहरी अस्पताल धनगढीमा सम्पन्न रक्तदान कार्यक्रममा ३९ पिन्ट रगत संकलन गरिएको हो। सो अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी ओम बहादुर रानाले रक्तदानमा सहभागी रक्तदाताहरूलाई प्रमाणपत्र वितरण गर्दै रक्तदान जीवन बचाउने महान् मानवीय कार्य भएको उल्लेख गरे ।
ट्राफिक नियम पालनासँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवाको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएका कार्यक्रमले रक्तदानप्रति आमनागरिकको सहभागिता र चेतना अभिवृद्धि गरेको आयोजकहरूको भनाइ छ। यसैगरी, नेपाल रेडक्रस सोसाइटी उपशाखा नं। २ को समन्वयमा एलायन्स इन्टरनेशनल स्कुलको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा २८ पिन्ट रगत संकलन गरिएको छ।
त्यस्तै, ग्यालेक्सी स्कुलले बार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ पिन्ट रगत संकलन भएको रक्तसञ्चार केन्द्र धनगढीले जानकारी दिएको छ। कार्यक्रमका क्रममा सुदूरपश्चिम प्रदेशका रक्तदाता सद्भावना दूत दीपक उपाध्याले तीनै स्थानमा पुगेर रक्तदानको महत्व, नियमित रक्तदानको आवश्यकता तथा जीवन बचाउन यसको भूमिकाबारे सचेतना फैलाएका थिए।

