धनगढी: जिल्ला प्रहरी कार्यालय कैलाली मातहत इलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यरत प्रहरी निरीक्षक (प्र.नि.) पुष्कर राज पन्त २०८२ साल पुस महिनाको “Best Police of the Month” (उत्कृष्ट प्रहरी) घोषित भएका छन्।
नेपाल प्रहरी संगठनले सुम्पिएको जिम्मेवारी उच्च व्यवसायिकता, लगनशीलता र कर्तव्यनिष्ठाका साथ निर्वाह गर्दै संगठनका उद्देश्य प्राप्तिमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो। फरार प्रतिवादी पक्राउ, नदिजन्य पदार्थको अवैध दोहन नियन्त्रण, अवैध कवाड संकलनमा संलग्न सवारी साधन नियन्त्रण गरी राजस्व संकलन, अवैध लागूऔषध नियन्त्रण, अवैध काठ बरामद लगायतका कार्यमा उनले सक्रिय भूमिका निर्वाह गरेका छन्।
त्यसैगरी संगठनको नीति अनुरूप समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरी समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न महत्वपूर्ण योगदान पुर्याएको प्रहरी कार्यालयले जनाएको छ। प्रहरी निरीक्षक पन्तको कार्यशैलीले स्थानीय जनमानसमा प्रहरीप्रतिको विश्वास र छवि उच्च बनाउन उल्लेखनीय भूमिका खेलेको जनाइएको छ।
उत्कृष्ट कार्यको उच्च कदर गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (प्र.उ.) नरेन्द्र चन्दले पन्तलाई नहद सहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका हुन्।
नेपाल प्रहरी संगठनले जिम्मेवारीप्रति समर्पित भई नागरिकलाई सुरक्षाको अनुभूति गराउने प्रहरी कर्मचारीको मनोबल उच्च बनाउने उद्देश्यले प्रत्येक महिना उत्कृष्ट प्रहरी छनोट गर्दै आएको छ।

