धनगढी: कैलालीको गेटा क्षेत्रस्थित जंगलबाट प्रहरीले गयराति एक युवकको उद्दार गरेको छ। गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयको पश्चिमतर्फ रहेको जंगलभित्र गम्भीर अवस्थामा फेला परेका ती युवकलाई बिहान करिब ४ बजे सुरक्षित रूपमा उद्दार गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार राति १० बजेर ४९ मिनेटमा कन्ट्रोल कक्षमा अज्ञात व्यक्तिको फोन आएपछि उद्दारका लागि प्रहरी टोली परिचालन गरिएको थियो।
सूचनापछि जिल्ला र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै बिहान करिब ४ बजे युवकको उद्दार गर्न सफल भएको हो। उद्दार गरिएका युवक लम्कीचुहा नगरपालिका स्थायी घर भई हाल धनगढी उपमहानगरपालिकामा बस्दै आएका सन्देश बोहरा रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख रणबहादुर चन्दका अनुसार बोहरालाई गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयको पश्चिमपट्टि रहेको जंगलभित्र अचेत अवस्थामा फेला पारिएको थियो।
उद्दारपछि बोहरालाई उपचारका लागि तत्काल कैलाली अस्पताल लगिएको छ। अस्पतालका चिकित्सकका अनुसार बोहराको कम्मर, हात तथा घाटीमा चोट लागेको देखिएको छ। हाल उनको उपचार भइरहेको छ।
प्रहरीका अनुसार उद्दार गरिएका बोहरा स्पष्ट रूपमा बोल्न नसकिरहेको अवस्थामा रहेकाले उनी घाइते हुनुको कारण हालसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको र चोट लाग्नुको कारण पत्ता लगाउन प्रहरीले आवश्यक प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

