धनगढी: सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ वाहिनी मुख्यालय कैलालीले २५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत जयन्ती) को अवसरमा विशेष समारोह आयोजना गरी दिवस भव्य रूपमा मनाएको छ। समारोहमा अवकास प्राप्त सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, वहालवाला तथा अवकास प्राप्त उपरीक्षक, नेपाल पूर्व सशस्त्र प्रहरी संघ सुदूरपश्चिम प्रदेशका पदाधिकारी, सशस्त्र प्रहरी परिवार महिला संघका प्रतिनिधि, वहालवाला तथा अवकास प्राप्त वरिष्ठ तथा कनिष्ठ अधिकृत, जवान, अमर सशस्त्र प्रहरीका आश्रित परिवारजन, समाजसेवी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा देशमा शान्ति सुव्यवस्था कायम गर्ने क्रममा प्राण आहुति दिने संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्ण मोहन श्रेष्ठलगायत सम्पूर्ण अमर सशस्त्र प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको थियो। साथै कर्तव्यपालनका क्रममा घाइते तथा अङ्गभंग भएका प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो। सो क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै वैद्यनाथ बाहिनीका प्रमुख सुदूरपश्चिमका डीआईजी प्रदीप कुमार पालले सशस्त्र प्रहरी बल, नेपालले सीमित स्रोत साधन र जनशक्तिका बाबजुद सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा ८० वटा इकाइमार्फत सीमा सुरक्षा, आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन तथा विकास निर्माण सुरक्षामा उल्लेखनीय योगदान पुर्याउँदै आएको जानकारी दिए।

उनले धनसिंहपुरको १०९ मिटरदेखि दार्चुलाको तिङ्करको ४२०० मिटर उचाइसम्मको कठिन भौगोलिक अवस्थामा समेत संगठन निरन्तर परिचालित रहँदै आएको बताए।
कार्यक्रममा सीमा सुरक्षा अन्तर्गत सीमापार अपराध नियन्त्रण, अवैध कारोबार रोकथाम, मानव बेचबिखन नियन्त्रण, लागुऔषध ओसारपसार रोकथाम, हातहतियार तस्करी, जाली नोट, मनी लाउन्डरिङ तथा आतङ्ककारी गतिविधि नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको उनले जनाए। यस्तै उनले अवैध बरामदीमा भएको वृद्धि मार्फत राजस्व संकलनमा थप टेवा पुगेको जनाउँदै गत आर्थिक वर्षमा वाहिनी तथा मातहत कार्यालयबाट २२ करोड ७९ लाख १० हजार ३ रुपैयाँ बराबरको अवैध मालसामान बरामद गरिएको थियो। चालु आर्थिक वर्षमा हालसम्म मात्रै १४ करोड ४३ लाख ३४ हजार ६६२ रुपैयाँ बराबरको अवैध सामग्री बरामद भइसकेको डीआईजी पालको भनाई छ।
त्यस्तै, विपद् व्यवस्थापनमा पनि सशस्त्र प्रहरीले अग्रणी भूमिका निर्वाह गर्दै भूकम्प, बाढी, पहिरो, आगलागी, डुबान र शीतलहरजस्ता विपद्मा उद्धार तथा राहत कार्य गर्दै आएको बताइएको छ। त्यसबाहेक समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण कार्यक्रम, स्वयम्सेवक तालिम र सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन हुँदै आएको जनाइएको छ।
समारोहमा उत्कृष्ट इकाइ, सुरक्षा बेस, बीओपी तथा खेलकुद र सांस्कृतिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने प्रहरी कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। यसैक्रममा हालैमात्र सुदूरपश्चिमका डीआईजी पालको प्रधान कार्यालय सरुवा भएको छ। उनको कार्यकालमा उल्लेख्य कार्य र सुधार भएको भन्दै मातहत कर्मचारी लगायत प्रदेश सरकार र सरोकारवालाले उनलाई शुभकामना समेत दिएका छन्।

